धरान/ मञ्चसम्बद्ध सङ्घीय लिम्बुवान राज्य परिषद्ले अरुण–सप्तकोशीपूर्वमा अनिश्चितकालीन बन्दको आह्वान गरेको छ ।
सोही आरोपमा धनकुटा प्रहरीले लिम्बुवानका ६ कार्यकर्तालाई पक्राउ गरेको छ । उनीहरूको रिहाइको माग गर्दै परिषद्ले अनिश्चितकालीन बन्दको आह्वान गरेको परिषद्का सुनसरी अध्यक्ष डम्बर खजुमले जनाए । कार्यकर्ता पक्राउको विरोधमा परिषद्ले तीन दिनदेखि कोशी राजमार्ग बन्द गर्दै आएको थियो । यता माइक्रो बस आगजनीको विरोध गर्दै यातायात मजदुरले पनि कोशी राजमार्ग बन्दको आह्वान गरेका थिए ।
दोहोरो बन्दका कारण विभिन्न स्थानबाट आएका सयौं सर्वसाधारण धरानमा अलपत्र परेका छन् । बन्दका कारण धरानका होटल तथा लजहरू भरिएका छन् । बन्दले यस क्षेत्रमा सोमबार पनि यातायातका साधन चल्न सकेनन् ।
विनानिष्कर्ष वार्ता टुङ्गियो
धनकुटा(ब्लाष्ट) सङ्घीय लिम्बुवान राज्य परिषद्ले आह्वान गरेको बन्दका क्रममा एमाले नेताको माइक्रोबस आगजनी गरिएपछि उत्पन्न समस्या समाधानका लागि धनकुटा जिल्ला प्रशासन कार्यालयमा सोमबार बसेको सर्वपक्षीय वार्ता विनानिष्कर्ष टुङ्गिएको छ ।
प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीको अध्यक्षतामा भएको वार्तामा दलका प्रतिनिधि, यातायात व्यवसायी तथा मजदुर, अधिकारवादी, सङ्घीय लिम्वुवान राज्य परिषद्का केन्द्रीय सचिवालय सदस्य प्रेमदीप थाम्सुहाङ, केन्द्रीय सदस्य चन्द्रसिंह नेम्वाङ, इन्द्र रसाईलीलगायतको सहभागिता थियो ।
क्षतिपूर्ति कसले व्यहोर्ने भन्ने विषयमा सहमति हुन नसकेपछि वार्ता विनानिष्कर्ष टुङ्गिएको प्रजिअ पराजुलीले जनाए । बैठकमा सहभागी यातायात मजदुरहरूले आगजनी गरिएको गाडीको क्षतिपूर्ति तत्काल उपलब्ध गराउनुपर्ने माग गरेका थिए भने लिम्बुवानले चाहिं सरकारले क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने तर्क गरेका थिए । प्रशासनले भने सरकारले क्षतिपूर्ति दिन नसक्ने बताएको थियो । वार्ता विनानिष्कर्ष सकिएपछि दुवै पक्षले आ–आप्ः्नो आन्दोलन जारी रहने बताएका छन् ।
वार्तास्थलबाट बाहिरिएका यातायात स्वतन्त्र मजदुर संगठनका धनकुटा अध्यक्ष गणेश थापाले वार्तामा सहमति हुन नसकेपछि आन्दोलनलाई सशक्त बनाएर लैजाने बताए । क्षतिपूर्ति उपलब्ध नगराएसम्म आन्दोलन जारी राख्ने उनले बताएका छन् ।
वार्ता असफल भएपछि प्रजिअ पराजुलीले क्षतिपूर्तिको विषयमा ऐन–कानुनबमोजिम गरौं भन्दै यातायात सञ्चालन गर्न दुवै पक्षलाई अनुरोध गरे पनि उनीहरूले अनुरोध अस्वीकार गरेका थिए ।
बन्दले जनजीवन प्रभावित
यातायात व्यवसायी–मजदुर तथा मञ्चसम्बद्ध परिषद्ले आह्वान गरेको अनिश्चिकालीन बन्दले यहाँको जनजीवन प्रभावित बनेको छ । बन्दका कारण कोशीका पहाडी जिल्ला धनकुटा, तेह्रथुम, संखुवासभा र भोजपुरको जनजीवन पूर्णरूपमा प्रभावित भएको हो ।
बन्दको असर शैक्षिक संस्थामा समेत परेको छ । बन्दले हजारौं विद्यार्थीको पठनपाठनमा असर परेको धनकुटा बहुमखी क्याम्पसका कयाम्पस प्रमुख डा.गोपालबहादुर भट्टराईले बताए । बन्दको कारण दुर्गम गाउँबस्तीका बिरामीहरूलाई सुविधासम्पन्न अस्पतालमा उपचार गराउन आउन समस्या परेको छ ।
गाडी मालिकद्वारा जाहेरी
धनकुटा–१ हिलेका एमाले नेता एवम् माईक्रोबसका धनी ओङदा तामाङले आफ्नो माइक्रोबसमा लिम्बुवान कार्यकर्ताले आगजनी गरेको हुँदा सार्वजनिक अपराधअन्तर्गत सजाय गरी क्षतिपूर्ति दिलाइ पाउन सोमबार जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्खास्त दिएका छन् ।
जाहेरी दर्खास्तमा लिम्बुवानका कार्यकर्ता जेन्टल लावती, झडेन्द्र खतिवडा र अपराध गर्न उक्साउने पार्टीका केन्द्रीय सदस्य चन्द्रसिं नेम्वाङ, इन्द्र रसाइली, जिल्ला उपाध्यक्ष फौदसिं चोङवाङ, लिम्बुवान भोलेन्टियर्सका उपकमाण्डर गंगाहाङ तिगेलासमेत ११ जना अभियुक्त रहेको उल्लेख छ ।
जाहेरीमा आगलागीवाट माईक्रोबस पूर्णरूपमा नष्ट भएको हँुदा ३५ लाख रूपैयाँबराबरको क्षतिपूर्ति पाउनुपर्ने र दोषीउपर कडाभन्दा कडा कार्वाही हुनुपर्ने माग छ

No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...