होटलमा काम गर्ने ४० प्रतिशत १६ वर्षमुनिका


शंकर खरेल
पूर्वमा विस्तार भइरहेका क्याबिन होटलमा वालिकाको प्रयोग बढेको भन्दै तत्काल पुनर्स्थापना गर्न माग गरिएको छ ।
सामाजिक विकासमा सक्रिय उप्का नेपाल नामक गैरसरकारी संस्थाले आइतबार इटहरीमा पत्रकार सम्मेलन गरी सुनसरीका १ सय ५० त्यस्ता होटलमा निरीक्षण/अनुसन्धान गर्दा ४० प्रतिशत वालिका भेटिएको तथ्य सार्वजनिक गरेको छ ।
अध्ययनअनुसार २ सय ५० जना महिला कार्यरत रहेको पाइएको छ । यसमध्ये १६ वर्ष कम उमेरका वालिकालाई पनि होटलमा कार्यरत रहेको अवस्थामा फेला पारिएको थियो ।
उनीहरुका लागि आफ्नै स्रोत परिचालन गरी उप्काले 'अवसर परियोजना' संचालन गरेको थियो । पूर्वका सुनसरी, मोरङसहित पहाडी जिल्लाहरुबाट आर्थिक अवस्थाका कारण होटलमा काम गर्न आएका वालिकालाई संस्थाले २ वर्ष लगाएर व्यवसायीक सीपलगायतका तालिम संचालन गरेको थियो ।
वालिकालाई पुनस्र्थापनामा जोड दिदैं उप्काका परियोजना निर्देशक शुभचन्द राईले राज्य र सरोकारवाल सरकारी निकायले पुनस्र्थापनामा जोड नदिने हो भने उनीहरुले गलत बाटो समात्न सक्ने धारणा राखे ।
पहिलो चरणमा १ सय ३० वालिकालाई तालिम दिइएको छ । परियोजनाको २ वर्षे अवधि सकिएको र यसविचमा प्रसस्तै सुधारका कार्य भएको विवरण प्रस्तुत गर्दै पत्रकार सम्मेलनमा निर्देशक राईले सुनसरीमामात्र नभएर पूर्वका धेरै शहर र बजारोन्मूख क्षेत्रमा मौलाइरहेको क्याबिनविरुद्ध सबै सजग हुनुपर्नेमा जोड दिएका थिए ।
क्याबिन होटल व्यवस्थित बनाउनेवारे सरोकारवालविच कयौपटक छलफल भइसकेका छन् । इटहरी होटल तथा लज व्यवसायी संघको अगुवाईमा भएका छलफलमा क्याबिन होटललाई व्यवस्थित र पारदर्शी बनाउने सहमती भएपनि विकृती कम नभएको विभिन्न अध्ययनहरुले देखाएका छन् ।
इटहरी होटल तथा लज व्यवसायी संघका रविन दाहालले क्याबिन होटल पारदर्शी भए वालिका र अन्य यौनिक गतिविधि हुने भनेर लागेका आरोप स्वतः कम हुने बताए ।

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...