अनाथालय प्रमुखले आफ्नै अनाथालयमा आश्रय लिँदै आएकी १४ वर्षीया बालिकालाई कुटपिट गरी जबर्जस्ती गर्न खोजेको आरोप लागेको छ । पीडित बालिकाले अनाथालय प्रमुख रमेश थापालाई कारबाही माग गर्दै बिहीबार जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि उनको कर्तुत सार्वजनिक भएको हो ।
मिजुरेडाँडा— ८ गहते पुख्र्याैली घर भई विगत ९/१० वर्षदेखि पोखरा उपमहानगरपालिका- १४ चाउथेस्थित थापाको घरमा सञ्चालित अनाथालयमा आश्रय लिइरहेकी बालिकालाई थापाले बुधबार बिहान जबर्जस्ती गर्न खोजेको उजुरीमा उल्लेख छ । 'घरको माथिल्लो तलामा बोलाएर जबर्जस्ती गर्न खोज्दा मैले नमानेपछि सरले मलाई लाठी र लात्तीलात्तीले हान्नुभयो,' पोखरा उमनपा—१० स्थित कालिका उच्चमाविमा कक्षा-८ मा अध्ययनरत पीडित बालिकाले भनिन्, 'सरले बोलाएपछि माथिल्लो तलामा जाँदा ढोकाको चुकुल लगाएर जबर्जस्ती गर्न खोज्नुभयो, मैले मानिन ।'
थापाले जबर्जस्ती गर्न खोजेपछि त्यसको प्रतिकार गर्दा उनले आफूमाथि कुटपिट गरेको र आफूले रोइकराई गरेपछि उनकी पत्नी आएपछि आफूलाई छाडेको पीडित बालिकाले बताइन् । कुटपिटबाट घाइते बालिकाको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भइरहेको छ । उनको शरीरभरि नीलडाम रहेको छ ।
पीडित बालिकाका अभिभावक उनलाई लिएर वडा प्रहरी कार्यालय रामबजार पुगेका थिए । तर, संवेदनशील मुद्दाहरू वडाले सुनुवाइ गर्न नसक्ने भन्दै जिल्लामा पठाएपछि उनीहरू जिल्ला प्रहरी कार्यालय पुगेका थिए । वडा कार्यालयका प्रहरी सहायक निरीक्षक चेतनाथ पौडेलले थापाले प्रारम्भिक अनुसन्धानमा बालिकामाथि जबर्जस्ती गर्ने नियतले कुटपिटसमेत गरेको पाइएको बताए । बालिकाको दुवै पिँडौलामा निलडाम छ । 'यस्ता संवेदनशील घटनाको छानबिन गर्ने अधिकार हामीलाई हुँदैन,' उनले भने, 'त्यसैले उनीहरूलाई जिल्ला जान सल्लाह दिएका हौँ ।'
आफ्नो घरलाई नै बेनामी अनाथालयका रूपमा सञ्चालन गर्दै आएका थापाले पहिलेपहिले पनि मादक पदार्थ सेवन गरी त्यहाँ आश्रति बालबालिकामाथि कुटपिट गर्ने गरेको पीडित बालिकाले बताइन् । विदेशी दाताको सहयोगमा सञ्चालन हुँदै आएको अनाथालयमा हाल तीन बालक र तीन बालिकाले आश्रय लिइरहेका छन् । अनाथालयमा पीडित टीका ६ वर्ष अघिदेखि बस्दै आएकी थिइन् । वैदेशिक सहयोगमा सञ्चालित उक्त अनाथालयमा नौ वर्षदेखि १४ वर्षसम्मका तीनजना बालक र तीनजना बालिका बस्दै आएका छन् । घटनापछि थापा फरार रहेकाले उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । @ nayapatrika

No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...