खनाल प्रधानमन्त्री छानिएकोमा इलाममा खुसियाली


इलाम (मङ्गलबारे), माघ २१ - एमालेका अध्यक्ष झलनाथ खनाल प्रधानमन्त्रीमा निर्वाचित भएपछि उनको गृह जिल्ला इलाममा खुसियाली छाएको छ । इलाम जिल्ला क्षेत्र नं १ बाट संविधानसभामा विजयी खनाल प्रधानमन्त्री भएपछि इलामवासी खुसी भएका हुन् । उनको घर भएको साँखेजुङ आसपासमा विजयसभा मनाउने तयारीसमेत भएको बताइएको छ ।
सानैदेखि राजनीतिप्रति लगनशील रहनुभएका खनाल प्रधानमन्त्री भएपछि परिवारमात्र नभएर समग्र जिल्ला नै उत्साहित बनेको छ, उनका भाइ पोटनाथ खनालले  भने । बुबा पुङ्कनाथ र आमा मधुमाताका सातौँ सन्तानका रूपमा विसं २००६ साल चैत ३ गते इलामको साँखेजुङ–३ मा जन्म भएको हो ।
उनका ठूल्दाइ रन्त, माल्दाइ यमनारायण, साइँला दाइ गिरीनाथ, काँइलादाइ खिलानाथ, अन्तरे दाइ तेजप्रसाद, जन्तरे उनी, खन्तरे पोटनाथ र दाताराम खनाल कान्छा भाइ हुन् ।
दाताराम समाज कल्याण परिषद्को उपाध्यक्षसमेत हुन् । सामान्य कृषि पेसामा आश्रित परिवारमा जन्मिएका उनले साँखेजुङको मिडिल स्कुलमा कक्षा सातसम्मको अध्ययन गरेका थिए ।
त्यसपछि इलाम सदरमुकाममा रहेको जिल्लाकै पुरानो आर्दश पब्लिक स्कुल (हाल आर्दश उच्च माध्यमिक विद्यालय) मा माध्यमिक शिक्षा पूरा गरी २०२८ सालमा काठमाडौँको त्रिचन्द्र कलेजमा आइएस्सी अध्ययन गरेका थिए ।
विसं २०३९ सालमा नेकपा मालेका महासचिवसमेत बनेका खानल भूमिगत राजनीति जीवन बिताएक थिए । यसअघि उनी वन, भूमिसुधार तथा सूचना तथा सञ्चारमन्त्री समेत भइसकेका छन् ।
पटक–पटकको जेल जीवनसमेत उनले भोगेका थिए । ‘लामो समयपछि मुलुकले नयाँ प्रधानमन्त्रीमा इलामका झलनाथ खनाललाई जिताएको छ यसप्रति जिल्ला स्तरीय नेता, कार्यकर्ता तथा समग्र पार्टी नै उत्साहित भएको छ, सचिव गणेश बरालले भने, ‘यसले जिल्लाको विकास निर्माणमा थप टेवा पुग्ने विश्वास लिएका छौँ ।’
खनाल प्रधानमन्त्री भएकोमा नेकपा एमालले आज दिउँसो जिल्ला पार्टी कार्यालयमा शुभकामना आदानप्रदान गर्ने जनाएको छ । साथै साँझ दिपावली गर्नेसमेत जनाएको छ ।रासस

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...