इटहरी, माघ १७ - सुनसरी हाँसपोसा भवानीपुरमा माओवादी 'जनयुद्ध'का क्रममा वावुआमा गुमाएका बालबालिका पढ्नका लागि अलग-अलग छात्र-छात्रावास भवन निर्माण गरिएको छ। माओवादी नेतृत्वको सरकारका पालामा प्रमुख सचेत पोष्टबहादुर बोगटी अध्यक्ष रहेको शहीद प्रतिष्ठानको अवधारण अनुसार पूर्वाञ्चलको हाँसपोसामा दुई बर्ष अघिदेखि सञ्चालन गरिएको विद्यालयमा पढ्ने बालबालिकाका लागि आवास भवन निर्माण गरिएको हो।
प्रतिष्ठानबाट १ करोड ११ लाख रुपैया सहयोगमा भवन निर्माण गरिएको जानकारी दिइयो। प्रतिष्ठानकै सहयोगमा विद्यालयका लागि १८ कटठा जग्गा खरीद गरिएको छ। जग्गा खरीद गर्दा अलगै २९ लाख रुपैया लागेको छ। प्रतिष्ठानको सहयोगमा पाँचवटै विकास क्षेत्रमा विद्यालय खोलिएको प्रतिष्ठान अध्यक्ष बोगटीले जानकारी दिए।
संस्थागत विद्यालय अन्तर्गत सार्वजनिक गुढीमा दर्ता भएको भवानीपुरको सहीद स्मृति विद्यालयमा पूर्वाञ्चल क्षेत्रका २ सय ४० जना विद्यार्थी अध्ययन गरिरहेको प्रधानाध्यापक रीता फुयँलले बताइन्। उनका अनुसार विद्यालयमा अहिले माओवादी 'जनयुद्ध'का क्रममा वाबुआमा गुमाएका १ सय ८४, 'जनयुद्ध'का क्रममा बाबु-आमा वेपत्ता भएका ५ , घाइते ११ , द्वन्द्व प्रभावित ७ , मधेस आन्दोलनका ३ र अन्य बाँकी स्थानीय दलित, गरीब र जनजाति समुदायका बालबालिका अध्ययनरत छन्।
अघिल्लो वर्ष कक्षा-५ सम्म र यसवर्षदेखि कक्षा-६ सम्म पठनपाठन हुँदै आएको विद्यालयमा प्रति विद्यार्थी मासिक खर्च एक हजार पाँच सय रुपैया प्रतिष्ठानले उपलब्ध गराउँदै आएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष राम कोइरालाले बताए। उनले प्रतिष्ठान बाहेक पनि अन्य सहयोगीदाताबाट रकम संकलन गरेर विद्यार्थीको समस्या टार्ने गरेको बताए। एक बर्ष अघि पनि विद्यार्थीका लागि पूर्वेली साँस्कृतिक कार्यक्रम सञ्चालन गरिएको थियो। सो कार्यक्रमबाट संकलन भएको रकमले एक्बुलेन्स खरीद गरेको विद्यालयले जनाएको छ।
माओवादी समर्थकका सात शिक्षक-शिक्षिका र सात कर्मचारी रहेको सहीद स्मृति विद्यालयमा अंग्रेजी माध्यामबाट पठनपाठन हुने गरेको छ। 'शिक्षक नियुक्ती गर्दा प्रतिष्पर्धा त गराइने गरिन्छ तर माओवादी नभए चाँहि जागिर सम्भव छैन्,' नाम नछाप्ने सर्तमा एक शिक्षकले भने, 'आफुमा पनि क्षमता हुदाँहुदै पनि माओवादी नबनी जागिर पाइएन्।'
विद्यार्थीलाई हरेक क्रियाकलापमा सहभागी गराउने गरिएको विद्यालय प्रसासनले दावी गरेको छ। यद्यपी, अतिरिक्त क्रियाकलापको वाहानमा उनीहरुलाई माओवादीले पार्टीले आफ्ना पक्षमा जसरी कार्यकर्ता आकर्षण गर्न अभियान सञ्चालन गर्छ त्यही ढंगले बेला-बेलामा प्रयोग गरिने गरिएको छ। @ (नागरिक)


No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...