टीकाराम नेती
‘कानुनको खिल्ली उडाउने झापा जिल्लाका एसपी रविन्द्रप्रसाद शर्माले व्यवसायी एवम् मजदुरहरूको प्रतिनिधि मण्डललाई धम्कीपूर्ण व्यवहार तथा गैह्रकानुनी रूपमा हिरासतमा राखिएका चालकलाई जेल पठाउने धम्की, दुर्घटनालाई कानुनभन्दा माथिको क्षतिपूर्तिसँग जोडेकोमा आपत्ति प्रकट गर्दै चरणबद्ध आन्दोलनमा उत्रिएका छौं ।’
–पाँचवटा यातायात व्यवसायी मजदुरले माघ ९ गते संयुक्तरूपमा जारी विज्ञप्ति
‘विधिवत् कानुनीरूपमा भन्सार तिरेर समान ल्याउछौं भन्दा बरु भन्सार नतिर, मलाई लाइन घुसको रूपमा पैसा देऊ भनेर एसपी रविन्द्र शर्माले वैध समान पनि पक्रिए, यस्ता भ्रष्ट एसपी शर्मालाई कारवाही हुनुपर्छ ।’
–भदौं १० गते पत्रकार सम्मेलन गरी भद्रपुरका व्यापारीद्वारा एसपी शर्माको चरित्र उदाङ्गो पारिंदै ।
‘एसपी शर्माले मेरो काँधमा बन्दुक राखेर पड्काउने काम गरेर मलाई फँसाउने प्रयत्न गरे ।’
–तत्कालीन प्रमुख जिल्ला अधिकारी यादव कोइरालाले नकलब्दामा पक्राउ गरिएको दाल काण्डमा एसपीको कमिसन खेल बुझेपछि गरेको गुनासो ।
‘के गर्ने सर ? महिनैपिच्छे लाइनका नाममा घुस नबुझाए सरुवा गरिहाल्छन् एसपीले ।’
–झापाका विभिन्न इलाका प्रहरी चौकी र पोष्टका प्रहरी इञ्चार्जले सञ्चारकर्मीसँग बिसाएको पिडा ।
छ महिनाअघि नारायणी अञ्चलबाट ट्रक चोरी गरी झापा ल्याएर काटिएको अवस्थामा फेला परेपछि सोको अनुसन्धानमा लागेका प्रहरीले चोरी भएको किटानी गर्दागर्दै चोरी भएको नदेखिएको भनी एसपी शर्माले मोटो रकम लिएर कारवाहीलाई पाखा लगाए ।
झापाका एसपी रविन्द्र शर्माका कर्तुतहरूबारे श्रृङ्खलाबद्धरूपमा बाहिर प्रकाशमा आएका यी केही उदाहरण मात्र हुन् । यसबाहेक धेरै छन् यस्ता अवैध गैह्रकानुनी काण्ड, जुन विविध कारणले बाहिर आउन सकेका छैनन् या आएनन् । जब मान्छेले आफ्नो पद, हैसियत, दायित्व बिर्सिन्छ अनि उविरुद्ध खुलेआम रूपमा यस्तै प्रमाण जुट्दै जान्छन् । नचाहेर पनि उविरुद्ध जाइलाग्न प्रेरित हुन्छन् । यस्तै प्रतिनिधि पात्र बनेका छन् एसपी रविन्द्र शर्मा ।
जिल्लामा शान्ति–सुरक्षा, अमनचयन स्थापना गराउने प्रमुख नायक मानिने एसपी शर्मा पटक–पटक चुके आफैले लिएको सपथमा । माथि उल्लेख गरिएका घटनामा उनी यसरी नाङ्गिए कि जसको सीमा नै छैन । झापा सदरमुकाम मात्र बन्द गर्न सुरु भएको उनको चरित्रले पूरै मेची–कोशी अञ्चल नै बन्द भयो र जनता आक्रान्त भए । बन्द भए खुलाउने, चोरी भए, चोर समाउने, हिंसा भए शान्त पार्ने प्रहरीको दायित्व हो तर एसपी शर्मा त झन् किन यी सबका नाइके पात्रको रूपमा चित्रण हुन कोसिस गरिरहेका छन् ।
आफ्नो चरित्र उदाङ्गो पारेको र पत्रकार सम्मेलन गरेको आरोपमा एसपी शर्माले भद्रपुरका दुई व्यापारीलाई २४ दिनसम्म हिरासतमा राखे । अन्ततः व्यापारीले एसपी शर्मालाई जे आरोप लगाएका थिए, त्यो कानुनतः प्रमाणित भयो । अवैध सामान भनेर आपूmले कमिसन नपाएको झोंकमा पक्राउ गरेको सामान मूल्यवृद्धि कर कार्यालयले वैध भनी छाडिदियो ।
सवारी दुर्घटना हुँदा र त्यसको क्षतिपूर्ति उपलब्ध गराउने बहानामा कानुनले तोकेभन्दा धेरै रकम माग गर्ने र त्यहाँ पनि कमिसनकै खेल खेल्न प्रयत्न गर्ने शर्माविरुद्ध मेची र कोशी अञ्चल पूरै ठप्प भयो । किन यहाँका शासकहरू चुप छन्, किन राजनीतिक दल र तिनका नेताहरू मूकदर्शक बन्छन् ? यहाँका एसपी र डीआइजीहरू प्रमाण भए कारवाही गर्ने नत्र केही गर्न नसक्ने बताउँछन् । उनीहरूले बुझ्नुपर्ने हो, नेपाली जनता त्यति सचेत छैनन्, जति प्रमाण हात पार्न प्रहरी र कानुन बुझेकाहरूले रातारात जालिझेली प्रमाण सुरक्षित गर्छन् ।
एउटा प्रहरी कार्यालयका असई या सईले महिनाबारी दुई हजार रूपैयाँ बुझाउन नसक्दा एसपी शर्माले अन्यत्रै सरुवा गरेको प्रमाण प्रसस्त छन् । उनीहरूले भनेका छन्, ‘के गर्नु सिनियर अफिसरको बारेमा बोलिसक्दा कारवाही हुन्छ, पिडा सहेर बस्नु परेको छ ।’
पंक्तिकार त अरुको गुनासो राखिदिने मात्र हो तर यदि एसपी शर्माले यी आरोपहरू निराधार हो भन्छन् भने आरोप लगाउनेहरूलाई कारवाही गरेर आफू चोखो भएको प्रमाणित गरुन् । हुन त देश शासन, व्यवस्था, नीति, नियम सबै सङ्क्रमणकालीन अवस्थामा कमजोर हुन्छन् तर एसपी शर्माले झापामा रहँदा जति झापाली र प्रहरीलाई धमिरा लगाउने काम गरे, त्यो ढिँकुरो फुटाउन अब धेरै समय लाग्छ ।
शर्मा आफूलाई एक कुशल, सफल र प्रहरी मिसनमा योग्य भएको दावी गर्छन् । हुन पनि होला उनी रातारात प्रमाण तयार गर्न सक्छन् र नष्ट गर्न पनि । तर आप्ः्नै मातहतका प्रहरीबाट १० रूपैयाँदेखि १० लाख रूपैयाँसम्म कमिसन र लाइन खानेविरुद्ध कोही खुलेर बोल्न सक्दैनन् ।
प्रहरी प्रशासनमा मेची अञ्चलका एसएसपी खिराज श्रेष्ठ अति उत्तम र कुशल मानिन्छन् तर चोरको गाउँमा बस्ने साधु पनि चोर नै भनेर चिनिन्छ । कि साधुले चोरलाई सत्मार्गमा हिंडाउन सक्नुपर्छ कि कानुनको कठघरमा उभ्याउन सक्नुपर्छ । नत्र साधु पनि त्यो चोरभन्दा कमको हुँदैन । म साधु हुँ भन्ने आधार हुनुपर्छ । पूर्व क्षेत्रीय प्रहरीका तत्कालिन इञ्चार्ज डीआइजी भीष्म प्रसाई पनि हार खाए एसपी शर्मासँग । कारण प्रहरीवृत्त र राजनीतिकर्मीलाई थाहा छ । अब भर्खरै अर्का डीआईजी आएका छन् विनोद सिंह । उनी पनि एसपी शर्माको कमजोरी र प्रमाण जुटाउन लागिपरेका छन् । डीआईजी सिंहकै शब्दमा यदि कमजोरी पत्ता लागेमा तुरुन्त विभागीय कारवाहीका लागि सिफारिस गरिनेछ ।
आप्ः्ना कर्तुतहरू माथिल्लो दर्जामा पुर्याउनेविरुद्ध तुरुन्त कुनै न कुनै बखेडा झिकेर मनोबल गिराउने, सरुवा गर्ने या कारवाहीको सिफारिस गर्ने शर्मा एक अजिव र माथिल्ला दर्जाका प्रमुखहरूलाई समेत काबुमा पार्न सक्ने कुशल एसपी हुन् भन्दा फरक पर्दैन ।
यी कुशल एसपीले आफ्नो बचाउ भने यसरी गरे, ‘आफूले धेरै तस्करहरूलाई नियन्त्रणमा लिएर राजस्व उठाएको र अपराध गर्नेहरूले अपराध गर्न नपाएका कारण मविरुद्ध लागेका हुन् ।’ आफू आउनुअगाडि ३५ लाख राजस्व उठ्ने गरेकोमा आफू आएपछि वार्षिक २ करोड ५३ लाख राजस्व उठाएको बताउँदै उनले आफूले झापामा राम्रो काम गर्दैआएको जवाफ दिएका छन् ।
प्रहरी विभागको उच्च ओहोदाको बर्दी पहिरिए पनि भिन्नै विशेषता बोकेका एसपी शर्माको कर्तुतबारे पटक–पटक कुरा उठे पनि उनी टिकिरहेकै छन् । उनी रातलाई दिन र दिनलाई रात बनाउन खप्पिस छन् । देशको शासन व्यवस्था नै कमजोर हुँदै गएको बेला एउटा प्रहरी प्रमुखको बर्खिलाप गर्नु राम्रो होइन तर यहाँ एउटा बिराउने शाखा पिराउने भएको छ । @ Blast Times

No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...