बासी खाना र खाजाको चर्को मूल्य तिर्न बाध्य यात्रुका लागि राहतको सन्देश छ- राजमार्गमा होटल तथा रेस्टुरेन्टमा खुवाइने खाद्यान्नको गुणस्तर जाँच गरिने भएको छ । सरकारका दुई निकायले राजमार्गमा मोबाइल भ्यानसहित अनुगमन गर्ने भएका छन् ।
होटल तथा रेस्टुरेन्ट सञ्चालकले चालकलाई फकाएर यात्रुलाई ठगेको गुनासो बढेपछि वाणिज्य विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले अनुगमन गर्न लागेका हुन् । यसका लागि निर्देशिकाको तयारी भइरहेको छ ।
न्यून गुणस्तरको खाना बिक्री-वितरण गरेको पाइएमा दोषीमाथि कडा कारबाही गरिने पनि वाणिज्य विभागले जनाएको छ । 'राजमार्गका होटल, लज तथा रेस्टुरेन्टहरूले यात्रुमाथि खानेकुरामा ज्यादती नै गरेका छन् भन्ने गुनासो आएकाले अनुगमन गरेर दोषीमाथि कारबाही गर्न लागेका हौँ,' वाणिज्य विभागका महानिर्देशक अनिलकुमार ठाकुरले नयाँ पत्रिकासँग भने, 'खानेकुराहरू गुणस्तरीय नभए राजमार्ग क्षेत्रका होटल, लज र रेस्टुराँलाई कारबाही गरिनेछ ।'
खाद्य प्रविधिकी निर्देशक जीवनप्रभा लामाले अनुगमनमा जाँदा लगिने मोबाइल भ्यानमा खाद्य परीक्षणका लागि आवश्यक सबै सामानको व्यवस्था रहने जानकारी दिइन् । 'मोबाइल भ्यानबाटै सम्बन्धित क्षेत्रमा नै बिक्रीका लागि राखिएका खानेकुराको परीक्षण हुनेछ,' उनले भनिन्, 'परीक्षण गर्दा न्यून गुणस्तरका खाद्यान्न बिक्री गरेको पाइएमा तत्कालै कारबाही गर्नेछौँ ।' उनका अनुसार पहिलो चरणमा पृथ्वी राजमार्गअन्तर्गतको नागढुंगादेखि नारायणगढसम्मका होटल, लज र रेस्टरेन्टको अनुगमन गरिनेछ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको नेतृत्वमा १८ कात्तिकमा गृह, स्थानीय विकास, श्रम तथा यातायात मन्त्रालय र वाणिज्य विभागका प्रतिनिधि रहेको टोलीले राजमार्गका होटल, रेस्टुरेन्ट तथा लजहरूको स्थलगत अनुगमन गरी प्रतिवेदन तयार पारेको थियो । सोही प्रतिवेदनकै आधारमा वाणिज्य विभागले निर्देशिका निर्माण गर्न लागेको हो ।
अनुगमनमा अधिकांश होटल तथा रेस्टुरेन्ट फोहोर, अव्यवस्थित र महँगा पाइएका थिए । प्रतिवेदनकै आधारमा निर्देशिका बनाउन लागिएको हो ।
वाणिज्य विभागका महानिर्देशक ठाकुरका अनुसार राजमार्गका होटल तथा रेस्टुरेन्टका लागि निर्देशिका बनाउन मुग्लिङ, मलेखु, नौबिसे क्षेत्रका होटल व्यवसायीसँग छलफल भइरहेको छ । निर्देशिकाको मस्यौदा अन्तिम चरणमा पुगेको र छिट्टै लागू हुने विभागले जनाएको छ । विभागका अनुसार राजमार्ग क्षेत्रमा न्यून गुणस्तरका खाद्यान्न बिक्री गर्नेमाथि निर्देशिका र खाद्य ऐनअनुसार कारबाही हुनेछ ।
वाणिज्य विभागका अनुसार राजमार्ग क्षेत्रमा बिक्री हुने खानेकुराको गुणस्तर तथा मूल्यको नियमित अनुगमन, खानेपानी तथा शौचालय र सफाइलगायतका विषयलाई समेटेर निर्देशिका बनाइनेछ । निर्देशिकामा राजमार्ग क्षेत्रका चियापसल, होटल, रेस्टुरेन्ट र लजहरूले अनिवार्य दर्ता गर्नुपर्ने, दर्ता गर्दा आवश्यक पूर्वाधारको न्यूनतम मापदण्ड पूरा हुनुपर्ने व्यवस्था गर्न लागिएको छ ।
होटल तथा लज वरपरको वातावरण, भवन, भान्सा, पानीको स्रोत र स्वच्छता, फोहोर व्यवस्थापन, खाद्य पदार्थ भण्डारणलगायतका व्यवस्थाबारे निर्देशिकामा स्पष्ट उल्लेख गरिने वाणिज्य विभागका महानिर्देशक ठाकुरले बताए । त्यस्तै, मूल्य-सूची र साइनबोर्ड अनिवार्य राख्नेपर्ने व्यवस्था पनि निर्देशिकामा हुनेछ । राजमार्ग मिचेर सञ्चालित चिया-नास्ता खुवाउने घरटहरा पनि हटाइने महानिर्देशक ठाकुरले जानकारी दिए
Source:- Nayapatrika


No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...