बिहे भएकै दिनदेखि मेरो जीवन बर्बाद भयो,तर ढिलै भए पनि अदालतले मलाई न्याय दियो
पति र ससुराले घरनिकाला गरिदिएपछि १५ वर्षदेखि न्यायका लागि हारगुहार गरिरहेकी महिलाले बल्ल न्याय पाएकी छिन् । जिल्ला अदालत सप्तरीले बिहीबार श्रीमान्ले कान्छी ल्याएपछि विनाकसुर घरबाट निकालिएकी चाँदनी झाको पक्षमा फैसला गरेपछि ढिलै भए पनि उनले न्याय पाएकी हुन् ।
१५ माघ, ०५१ मा चाँदनीको बिहे राजविराज-७ प्राध्यापक अमरकान्त झाका छोरा पंकजसित भएको थियो । तर, बिहेको केही समयमै ससुरा र पतिले चाँदनीलाई घरनिकाला गरिदिएपछि उनले स्थानीय अधिकारवादी संस्था हुपेकको सहयोगमा २२ कात्तिक, ०६४ मा छुट्टाछुट्टै तीनवटा मुद्दा जिल्ला अदालत, सप्तरीमा दायर गरेकी थिइन् ।
पति पंकजकुमारविरुद्ध दिइएको बहुविवाह मुद्दाको टुंगो लगाउँदै जिल्ला अदालत सप्तरीका न्यायाधीश नागेन्द्रलाल कर्णको एकल इजलासले चाँदनीको हकमा फैसला सुनाएको हो । फैसलामा पीडित चाँदनीका श्रीमान् पंकजलाई एक महिना कैद र हजार रुपैयाँ जरिवाना तोकिएको छ । अदालतले पंकजकी कान्छी श्रीमती किरणलाई सफाइ दिए पनि अंश मुद्दामा एक साताभित्र उनीसँग बयान लिने आदेश सुनाएको पीडितका पक्षबाट वकालत गर्दै आएका हुपेक अध्यक्ष एवं अधिवक्ता धर्मेन्द्र यादवले नयाँ पत्रिकालाई बताए ।
फैसलापछि वर्षौँदेखि न्यायका लागि भौँतारिरहेकी पीडित चाँदनीले खुसी व्यक्त गरिन् । फोन सम्पर्कमा चाँदनीले भनिन्, 'अमरकान्त झाको परिवारमा बिहे भएकै दिनदेखि मेरो जीवन बर्बाद भयो । ढिलै भए पनि अदालतले मलाई न्याय दिएको छ । म निकै खुसी छु ।'
यसैबीच घरबाट निकालिएको १५ वर्षपछि अदालतबाट न्याय पाए पनि जिल्ला प्रशासनका कर्मचारीको बदमासीका कारण पतिको नामबाट नागरिकता बनाउन समस्या भएको चाँदनीले गुनासो गरेकी छिन् ।
प्रशासनका कर्मचारीले उनका कागजी प्रमाणहरू गायब गरी अदालतलाई पत्र लेखेका कारण उनको अंश मुद्दाको पनि टुंगो लाग्न नसकेको अधिवक्ता यादवले बताए । प्रशासनका कर्मचारीको बदमासीले उनी हालसम्म नागरिकता लिनबाट वञ्चित छिन् ।
source:-nayapatrika


No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...