अब अनलाइनबाटै प्रहरीमा उजुरी

काठमाडौं, माघ ६- तपाईँलाई प्रहरीले दुःख दिएको छ? अथवा अपराधसम्बन्धी महत्वपूर्ण जानकारी भएर पनि पहिचान खुल्ने डरले प्रहरी कार्यालय जान सक्नुभएको छैन? यसो हो भने अब तपाईले अनलाइनबाटै प्रहरीकहाँ आफ्नो उजुरी पठाउन सक्नुहुन्छ। 

कार्यालयमा आएर उजुरी गर्न सक्ने व्यवस्था भए पनि पहिचान खुल्ने डरले प्रभावकारी बन्न नसकेको ठहर गर्दै प्रहरीले आफ्नो वेबसाइटमै उजुरी गर्नसक्ने व्यवस्था गरेको हो। 'www.nepalpolice.gov.np'मार्फत जोसुकैले उजुरी गर्न सक्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ। 
प्रहरीको दैनिक व्यवहार, कार्यसम्पादन र अनियमिततासम्बन्धी उजुरीका लागि प्रत्येक कार्यालयमा बाकस राख्ने गरिएपनि सेवाग्रहीबाट न्युन उजुरी आउने गरेपछि प्रधान कार्यालयले आफ्नो आधिकारिक वेबसाइटमै उजुरी बाकसको व्यवस्था गरेको हो। 

नाम, इमेल ठेगाना खुलाएर पठाएको उजुरीको अनुसन्धान र अनुगमन प्रहरी महानिरीक्षकको सचिवालयले गर्ने व्यवस्था गरिएको एक अधिकारीले बताए। उनका अनुसार अनलाइन उजुरीको अनुगमन र अनुसन्धान एसपीको नेतृत्वमा रहेको छानबिन समितिले गर्ने छ। 

प्रहरी प्रवक्ता नवराज ढकालका अनुसार सेवाग्रहीले डिजिटल उजुरी बासकमार्फत पहिचानसहित वा पहिचान लुकाएर उजुरी गर्न सक्ने छन्। यो नयाँ प्रविधिको सुरुवातपछि आम नागरिकबाट अपराध र अपराधीसम्बन्धी जानकारी बढी आउने आशा गरेको उनले बताए।  'उजुरीको विषयवस्तु हेरी प्रारम्भमा सचिवालयले नै अनुसन्धान गरी आवश्यक परे सम्बन्धित निकायलाई जानकारी गराउनेछ,' उनले भने। 
उजुरीकर्ताको पहिचान गोप्य राखिने डिआइजी ढकालले बताए। 'पहिचान नखुलाई गरिएको उजुरी पनि छानबिन गर्दा तथ्यपूर्ण भए कारबाही अगाडि बढाइने छ,' उनले भने, 'प्रहरीले कहींकतै बदमासी गरे, उजुरी गर्नुस्। केन्द्रले कारबाही प्रक्रिया अगाडि बढाउँछ।'
Source:- Nagarik

1 comment:

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...