व्यापारीलाई ५ देखि १० लाख रूपैयाँको चन्दापत्र
बाबुराम सुवेदीभूमिगत सशस्त्र आन्दोलन गर्दै आएको संयुक्त जातीय मुक्ति मोर्चाले चन्दा भन्दै धरानका सुनचाँदी व्यापारीसँग लाखौं रूपैयाँ माग गरिएको पत्र पठाएको छ ।
मोर्चाका सुनसरी इञ्चार्ज अविरलले हस्ताक्षर गरी पठाएको पत्रमा पाँचदेखि १० लाख रूपैयाँ चन्दा माग गरिएको व्यापारीहरूले जनाएका छन् । माग गरेअनुसारको रकम नदिए कारवाही गर्ने भनेर पत्रमा उल्लेख भएको नेपाल सुनचाँदी व्यवसायी सङ्घका सुनसरीका अध्यक्ष सुनिल अग्रवालले बताए ।
झण्डै एक महिनाअघि मोर्चाको धम्कीपूर्ण पत्र आएपछि सुनचाँदी व्यवसायीहरू बीच छलफल भएको थियो । सोबारे धरान इलाका प्रहरी कार्यालयलाई तत्कालै जानकारी गराए पनि कुनै प्रगति नभएको व्यापारीहरूले गुनासो गरेका छन् । इप्रकाका डीएसपी दीपक रेग्मीले भने सो विषयमा अनुसन्धान भइरहेको जनाए । ‘यस विषयमा अञ्चल प्रहरी कार्यालयले नै कारवाही अगाडि बढाएको छ’ रेग्मीले भने, ‘हामी पनि लागिपरेका छौं तर मान्छे पक्राउ गर्न सकेका छैनौं ।’
व्यक्तिगतरूपमा त्यति धेरै रकम दिन नसक्ने जनाएपछि भूमिगत समूहले मोबाइलमा एसएमएस पठाएर रकम माग गरेको व्यापारीहरूले जनाए । ‘तर, पछिल्लो समयमा खास सम्पर्क भएको छैन’ अध्यक्ष अग्रवालले भने, ‘त्रासको वातावरण भने कायमै छ ।’ उनका अनुसार धरानका आधा दर्जनभन्दा बढी सुनचाँदी व्यवसायीसँग मोर्चाले चन्दा माग गरेको छ ।
मोर्चाको धम्कीपूर्ण पत्र आएपछि यहाँका व्यापारीहरू त्रसित् बनेका छन् । मोर्चाले पूर्वाञ्चलका अन्य स्थानका व्यापारीसँग पनि चन्दा माग गरेको भन्ने बुझिएको एक व्यापारीले जनाए । मोर्चाको चन्दा आतङ्कका कारण आफूहरूले त्रासमा व्यवसाय गर्नुपरेको व्यापारीहरूको भनाइ छ ।
विभिन्न भूमिगत समूहको नाममा व्यवसायीबाट मोटो रकम माग गरेका कारण जिल्लाका व्यवसायीमा त्रास पैmलिएको उद्योग वाणिज्य सङ्घ सुनसरीका अध्यक्ष मोहनकाजी शाक्यले बताए । सरकारले व्यापारीलाई सुरक्षा दिन नसक्ने भयो’ उनले भने, ‘व्यापारीहरूले सुरक्षाका महसुस गर्न पाउने अवस्था कहिल्यै आएन ।’ स्थिति सुधार नभए शान्ति सुरक्षाको माग गर्दै आन्दोलनमा उत्रने उनको भनाइ छ ।


No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...