‘धामीझाँक्री विद्या’ सिक्दैछन् सात किशोरी


समाजमा बिस्तारै तन्त्रमन्त्र र धामीझाँक्रीप्रति विश्वास घट्दै गएको दावी गरिएपनि यसमा विश्वास गर्नेको संख्या अझै छ । त्यसो त तन्त्रलाई विश्वास नगरिहाल्ने पनि कुनै आधार छैन ।

कतिपय सन्दर्भमा तन्त्रमन्त्र अन्धविश्वास जस्तो लागेपनि समाजमा औषधीउपचारभन्दा अघि धेरैले यसमै भर पर्नुपर्थ्यो। यो प्रचलन अझै पनि छ ।
यही सन्दर्भमा एउटै गाउँमा सातजना किशोरी धामी भएको थाहा पाउँदा अनौठो लाग्न सक्छ । तर यो सत्य हो ।
ओखलढुंगास्थित विलन्दु गाविसको वार्ड नं. १ र २ मा पर्ने विलन्दु गाउमा सातजना किशोरी धामी रहेका छन् । उनीहरु १२ देखि १६ वर्ष उमेरका छन् । यी किशोरीहरुले तन्त्रमन्त्रबाट उपचार गर्ने गरेपछि दुर्गम गाउमा धामीझाँक्रीप्रति झनै विश्वास बढ्न थालेको छ । धामी किशोरीहरुमा कल्पेश्वर माविमा कक्षा ५ मा अध्ययनरत संगीता गुरुङ, कक्षा ७ मा अध्ययनरत सनिता गुरुङ, रुकुमाया गुरुङ, शिवमाया गुरुङ, गोमा गुरुङ, तुलसा गुरुङ र कक्षा १० मा अध्ययनरत मिना गुरुङ रहेका छन् ।
केही बर्षअघि उनीहरुलाई कक्षा कोठामै कम्पन छुटेपछि विद्यार्थी र शिक्षकहरु आर्श्चर्यचकित भएका थिए । एक शिक्षकका अनुसार उनीहरु काम्न थालेपछि आफूलाई विभिन्न देवदेवता आएको भन्दै गाउँ घुम्न थाले ।
किशोरीहरुका कारण एक वर्षअघि तीन महिनासम्म विद्यालयको पढाईमा समस्या भएको विद्यालयकी शिक्षिका ताराकुमारी खतिवडाले बताइन् । विद्यालयमा पढ्न पठाएका नानीहरु अचानक विरामी पर्न थालेपछि अभिभावक समेत छक्क परेको सम्झना गरिन् ताराले ।
शिक्षिका खतिवडाका अनुसार त्यसपछि अभिभावकले कुल बिग्रिएको भन्दै कुल पूजा गरे । त्यसपछि स्थानीय धामी दिलिप गुरुडले झारफुक गरी यी किशोरीहरुको रोग ठीक भएको स्थानीय वासिन्दा वताउँछन् । एक वर्षदेखि धामी दिलिप गुरूङले झारफकु गर्नुका साथै यी सातजना किशोरीलाई धामीको रुपमा शिक्षासमेत दिँदै आएका छन् ।
अहिले विलन्दु गाविसका धामी दिलिप गुरुङले कल्पेश्वर माविका कक्षा ५, ७ र १० मा अध्यनरत सातजना वालिकालाई धामीझाँक्रीको शिक्षा दिइरहेका छन् । उनीहरुले विद्यालय गएर अध्ययन गर्नुका साथै विहान-वेलुका र छुट्टीको समयमा धामीसँग तन्त्रमन्त्र विद्या सिकिरहेका छन् । उनीहरुमा देवी, जंगली देवी र वन झाँक्री उत्पन्न भएको र सोही अनुसार धामीझाँक्री विद्या सिकाएको धामी दिलिप गुरुङ वताउँछन् ।@पूर्वेली टाइम्सबाट

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...