डाक्टर निजी अस्पतालमा, विद्यार्थीले जाँच्छन् विरामी

काठमाडौं, माघ ७ - वीर अस्पतालका चिकित्सकहरू आफ्नो कामको जिम्मा स्नातक अध्ययनरत विद्यार्थी र 'इन्टर्न' लाई लगाएर आफू निजी क्लिनिकमा व्यस्त हुने गरेको राष्ट्रिय सतर्कता केन्द्रले जनाएको छ । केन्द्रले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनमा चिकित्सकहरूले आफ्ना क्लिनिकमा आएका बिरामीलाई अस्पतालबाट निःशुल्क उपचार गराउने गरेको समेत उल्लेख छ ।
प्रतिवेदनमा 'वरिष्ठ चिकित्सकबाट जचाउन अस्पताल गए पनि यथार्थमा वरिष्ठ र कन्सलटेन्टलाई कार्यालय समयमा अस्पतालमा भेट्न मुस्किल पर्ने' उल्लेख छ । ती चिकित्सकहरूको नर्सिङहोम पनि भएकाले वीरका शय्ययाहरूमा पूर्ण रूपमा अस्पतालको अधिन हुनुपर्ने सुझाव पनि प्रतिवेदनमा दिइएको छ । केन्द्रले उक्त प्रतिवेदन स्वास्थ्य मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (नाम्स) मा पठाएको छ ।
'उहाहरू (चिकित्सक) ले आफ्नो जिम्मेवारी बोध गर्नुपर्छ,' केन्द्रका प्रमुख अधिकृत ताना गौतमले भने, 'वरिष्ठ र कन्सलटेन्ट चिकित्सकलाई समयपालन अवधारणा 'फ्लेक्सी टाइम' ल्याउनुपर्ने देखिन्छ ।' केन्द्रले आगामी दिनमा वीरका चिकित्सकले निजी क्लिनिक र अस्पताललाई दिने समयबारे अध्ययन गर्ने बताए ।
केन्द्रलाई वीरमा अनुसन्धान गर्न सर्वसाधारण र स्वास्थ्य मन्त्रालयले समेत आग्रह गरेको स्रोतले बतायो । 'चिकित्सकले, चिकित्सकलाई नटेर्ने भएकाले अन्य निकायवाट समेत कमी कमजोरी बाहिर ल्याउनुपर्ने अवधारणा अनुसार सतर्कतालाई अनुरोध गरिएको थियो', स्वास्थ्य मन्त्रालयका एक बरिष्ठ पदाधिकारीले भने, 'बीरमा व्यापक परिवर्तन नगरेसम्म खासै कुनै परिवर्तन न हुने स्थिति देखिएको छ ।'
बीरका जिम्मेवार पदाधिकारीहरूले केन्द्रका अनुसन्धान अधिकृतहरूलाई अस्पताल समयमा निजी क्लिनिकमा बस्ने चिकित्सकको नाम सार्वजनिक नगन आग्रह गरेको  समेत स्रोतले दावी गर्‍यो । 'नाम सार्वजनिक, छडके आदि नगर्नुस म सुधार्छु', विरका एक जिम्मेवार पदाधिकारीले केन्द्रलाई गरेको अनुरोध उध्दृत गर्दै स्रोतले भन्यो । बीरका ति अधिकारीले चिकित्सकलाई एक्कासी कडाइ गर्‍यो भने उनिहरू प्रतिरोधमा उत्रने र अन्ततः सेवा प्रभावित हुने समेत जनाएका थिए ।
'तिव्र राजनीतिकरण, अनुसासनहिनता, प्रशासनिक दक्षता र प्राविधिक कुरा फरक हुनु लगायतका कारणले अस्पतालको जटिल अवस्था हुन थालेको हो', गौतमले भने, 'तर अस्पताल भित्रको समस्याका लागि नैतिक रूपमा नेतृत्वकर्ताले जिम्मेवारी लिनुपर्छ ।'
Source:- Ekantipur

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...