झापामा एक ट्राफिक प्रहरीको भागमा आठ सय सवारी

बिष्णुप्रसाद पोखरेल
एक ट्राफिकले कतिवटासम्म सवारी साधनको ब्यवस्थापन गर्न सक्ला ? उसले कति टाढा कतिसम्म नजर पुर्‍याउन सक्ला र सवारी साधनले नियम मिचेमा कार्वाही गर्न सक्ला ?
झापामा एक ट्राफिकले दैनिक आठसयवटा सवारी साधनको ब्यवस्थापन गर्नुपर्छ भने सले पाँच किलोमिटरसम्म धाउनु पर्ने अवस्था रहेको छ ।जसले गर्दा झापाको ट्राफिक ब्यवस्थापन चुनौतीपूर्ण बनेको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडका प्रमुख शान्तिराज कोइरालाका अनुसार झापामा अहिले एक ट्राफिकले दैनिक आठ सय सवारी साधनको ब्यवस्थापन गर्नुपर्छ भने पिच तथा मुख्य सडकलाई आधार मान्दा पाँच किलोमिटर त्यो ट्राफिकको भागमा पर्न आउँछ ।
झापामा दिनप्रतिदिन यातायातका सवारी साधन थपिने क्रम बढ्दै गएको छ भने त्यहि अनुमातमा दुर्घटनामा पनि बृद्धि भइरहेको छ अनि यो कुरामा ट्राफिक ब्यवस्थापनको कमजोरी भन्ने आरोप लाग्ने गरेको छ ।
यता ट्राफिक प्रहरीमा भने २०६३ सालपछि ५ बर्षको अबधिमा एक जना ट्राफिक प्रहरीको पनि दरबन्दी थप नभएको पाइएको छ ।
यातायात ब्यवस्था कार्यलयको रेकर्ड अनुसार र मेची अञ्चलमा दैनिक रुपमा छत्तीस हजार भन्दा बढी यातायाताका सवारी साधनहरु सडकमा गुड्ने गरेको पाइन्छ ।
जिल्ला ट्राफिक प्रमुख कोइरालाका अनुसार यतिबिघ्न सवारी साधनलाई ब्यवस्थापन गर्न खटिनु पर्ने अवस्था बिद्यमान रहेको छ । यातायातका सवारी साधनको अनुपातमा ट्राफिक प्रहरीको दरबन्दी थपिएको छैन ।
नियमित सवारी ब्यवस्थापन मात्रै ट्राफिकको जिम्मेवारी नभएर सँगसागै, चेकजाँच र अन्य कामसमेत गर्नु परेकाले ट्राफिक ब्यवस्थापनमा चुनौती आएको छ ट्राफिकको भनाइ छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोड, इलाका ट्राफिक प्रहरी कार्यलय दमक र चन्द्रगढीमा चालीस ट्राफिक प्रहरीको दरबन्दी रहेको छ । यिनै चालिसमध्येबाटै भीआइपी आउँदा अगाडीपछाडी लागेर स्कर्टिङ पनि गर्नुपर्ने हुन्छ ।
यी कार्यालयहरुबाट चारआली, काँकडभिट्टा लगायतका प्रमुख बजार क्षेत्रमा समेत ट्राफिक प्रहरीहरु खटाइने गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको भनाइ छ ।
कम्तिमा पनि एक सयजना ट्राफिक प्रहरी भएमा मात्र पनि ट्राफिक ब्यवस्थापनमा केहि सहजता आउने र अहिले रहेको चुनौती केहि हदसम्म कमी हुने कोइराला बताउँछन् ।
यता ट्राफिक प्रहरीले इन्धन पनि मागेर चलाईरहेको छ । आवश्यकता अनुसार इन्धनको सुबिधा समेत नरहेकाले दुघटना भएको ठाउँमा तत्काल पुग्न समेत समस्या हुने र सर्बसाधरण आक्रोशित बन्ने गरेको प्रहरीको भनाइ छ ।
यातायात ब्यवस्था कार्यालय मेचीका निमित्त प्रमुख चन्द्र फुयालका अनुसार अहिलेसम्म चालिस हजारको हाराहारीमा मोटरसाइकल दर्ता भएका छन भने करिब छ हजारभन्दा बढी अन्य सवारी साधन रहेका छन् ।
Via Source:- Purbeli Times

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...