बिहारद्वारा बिजुली आपूर्ति बन्द गर्ने चेतावनी


विद्युत् खरिदबापत ५४ करोड तिर्न बाँकी
नेपाल विद्युत् प्राधिकरणले कटैया–दुहबी र सीतामढी–जलेश्वर प्रसारण लाइनबाट आयात गरिरहेको बिजुली बन्द गर्नसक्ने चेतावनी भारतको बिहार इलेक्ट्रिसिटी बोर्डले दिएको छ । नेपालले विद्युत् खरिदबापत करिब ३३ करोड भारु (५४ करोड नेपाली रुपैयाँ) भुक्तानी गर्न नसकेपछि बोर्डले यस्तो चेतावनी दिएको हो ।
प्राधिकरणका कार्यकारी निर्देशक डा. जीवेन्द्र झालाई पत्र पठाई बोर्डले समयमा भुक्तानी नहुँदा आफूले अन्य कम्पनीबाट खरिद गरेको बिजुलीको भुक्तानीमा समेत गम्भीर असर परेको बताएको छ । प्राधिकरणले समयमा भुक्तानी नगर्ने हो भने विद्युत् आपूर्तिसमेत बन्द हुनसक्ने व्यहोरा पत्रमा छ । प्राधिकरणका अनुसार कटैया–दुहबी प्रसारण लाइनबाट ८० मेगावाटसम्म बिजुली आयात भइरहेको छ ।
बक्यौता भुक्तानी चाँडै गर्न बोर्डबाट पत्र आएको पुष्टि गर्दै प्राधिकरणका कार्यकारी निर्देशक झाले भने, “बोर्डले घुमाउरो पारामा विद्युत् आपूर्ति बन्द गर्न सकिने उल्लेख गरेको छ । तर, वित्तीय अवस्था नाजुक भएकाले प्राधिकरणले सबै रकम तुरुन्तै तिर्न सक्दैन ।”
विद्युत् महसुल समायोजन नहुँदा प्राधिकरणलाई थप आर्थिक संकट परेको बताउँदै झाले भने, “महसुल बढेको भए बोर्डलाई समयमा बक्यौता भुक्तानी गर्न सकिने थियो ।” बक्यौता भुक्तानीका लागि पत्रबाटमात्र होइन, बोर्डका उच्च अधिकारीले टेलिफोनबाट समेत ताकेता गरिरहेको जानकारी उनले दिए ।
झाका अनुसार रक्सौल–वीरगन्ज ३३ केभी प्रसारण लाइनबाट थप १० मेगावाट बिजुली आयात गर्नसक्ने सम्भावना भए पनि बोर्डलाई बाँकी रकम भुक्तानी गर्न नसकेकाले यो आयात रोकिने अवस्थामा पुगेको छ । “एसएलसी परीक्षालाई दृष्टिगत गरी त्यहाँबाट १० मेगावाट बिजुली आयातको तयारी गरिए पनि समयमा भुक्तानी दिन नसक्दा असम्भव देखिएको छ,” उनले भने, “तर, बिजुली ल्याउन हामीले हरसम्भव प्रयास गरिरहेका छौं ।”
सम्झनलायक कुरा के छ भने केही वर्षअघिसम्म प्राधिकरणले यो प्रसारण लाइनबाट वार्षिक ३५ करोड रुपैयाँसम्मको बिजुली भारतलाई बिक्री गर्दै आएको थियो । विद्युत् संकट बढेपछि प्राधिकरणले यो लाइनबाट बिजुली निकासी बन्द गरेर आयात गर्न खोजिरहेको छ ।
यता, बिजुलीको बक्यौता तिर्न तथा प्रसारण लाइन निर्माणका साथै अन्य कामका लागि डेढ अर्ब रुपैयाँ माग गरकोमा अर्थमन्त्रालयबाट अझैसम्म निकासा नभएको पनि प्राधिकरणले जनाएको छ । अर्थबाट यो रकम आउने हो भने बोर्डलाई बक्यौता भुक्तानीका साथै प्रसारण लाइनका अन्य काम अघि बढाउन सहज हुने झाको भनाइ छ ।
विद्युत् खरिदबापत बोर्डबाट मात्रै मासिक १८ देखि २० करोड भारुको बिजुली बिल आउने गरेको प्राधिकरण अर्थ तथा लेखा विभागका कायममुकायम उपकार्यकारी निर्देशक बद्रीनाथ रोकाले बताए । प्राधिकरणले विस्तारै भुक्तानी गरिरहेको भए पनि अहिले पूरै तिर्न नसक्ने उनले स्पष्ट पारे ।
विद्युत् चुहावट उच्च हुनुका साथै महँगोमा खरिद गरेर सस्तोमा बिक्री गरेकाले प्राधिकरणको वित्तीय स्वास्थ्य कमजोर बनेको छ । गत आर्थिक वर्षसम्म प्राधिकरणको सञ्चित नोक्सानी बढेर साढे १९ अर्ब रुपैयाँ पुगिसकेको छ । गत वर्ष उसले भारतबाट करिब ३ अर्ब रुपैयाँ बराबरको ६ सय १२ गिगावाट घण्टा बिजुली आयात गरेको थियो ।
Via Source:- Karobar Daily

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...