जलपाइगुडीमा तनावको त्रास, आज पदयात्रा हुँदै


रोशन साँवा, दार्जिलिङ, फागुन ५ - जलपाइगुडी जिल्लाको कुमानीमा तनाबको त्रास बढेको छ। गोर्खा जनमुक्ति मोर्चाले कुमानीबाट बिहीबारदेखि ११ दिने पदयात्रा गर्दैछ भने त्यसको विरोधमा स्थानीय अखिल भारतीय आदिवासी विकास परिषदले पदयात्राभर आमहडताल आव्हान गरेको छ।
मोर्चाको पदयात्रालाई मध्यनजर गर्दै प्रशासनले कुमानीदेखि जयगाउँसम्मका विभिन्न क्षेत्रमा पदयात्रा, भेला गर्न नपाउने गरी निषेधाज्ञा लागू गरेको छ र उसले कानुनको पालना गर्न आव्हान गरेको छ। त्यस क्षेत्रमा केन्द्रिय अर्धसैनिक बल (सीआरपीएफ) परिचालित छ।
मोर्चाले पदयात्राका लागि प्रशासनसँग निवेदन दिएको भएपनि त्यसको जवाफ आइनसकेको जनाएको छ। परिषदले मोर्चाको पदयात्राले जलपाइगुडीमा तनाव र हिंसा निम्त्याउने तर्क राखेको छ।
मोर्चाले करिव एक सय किलोमिटर दुरीको पदयात्रामा ४० हजार गोर्खाल्याण्ड समर्थकलाई उतार्ने दाबी गरेको छ। पदयात्रा तयारीका लागि मोर्चाका अध्यक्ष विमल गुरुङसहितको टोली माघ पाँच गतेदेखि कुमानीमा छ। विहीवार सुरु हुने पदयात्रामा गुरुङ सहभागी हुने छैनन् तर प्रशासनले अवरुद्ध गरे डुवर्सबाट एक लाख मान्छेका साथमा सहभागी हुने गुरुङले दाबी गरेका छन्।
मोर्चाले गत बुधबार नै पदयात्रा गर्ने तयारी गरेको भएपनि कुमानी नजिकै सिब्चुको घटनापछि स्थगित भएको थियो। अघिल्लो मंगलबार प्रहरीले गोली चलाउँदा मोर्चा समर्थक दुईको घटनास्थलमै र एकको चारदिनपछि उपचारको क्रममा मृत्यु भएको थियो।
दार्जिलिङमा स्थापित भएको मोर्चाले जलपाइगुडीमा आफ्नो प्रभाव विस्तार गर्न पदयात्रा गर्न लागेको हो। मोर्चाले गोर्खाल्याण्ड राज्य र दुई वर्षको लागि हुने गोर्खाल्याण्ड स्वायत्त प्राधिकरणमा जलपाइगुडीको डुवर्स क्षेत्रलाई पनि समेटिनुपर्ने माग गर्दै आएको छ। तर डुवर्समा आदिवासीको बहुलता छ।
सिब्चुमा तीन कार्यकर्ता मारिएपछि सिविआई जाँचको माग गर्दै मोर्चाले आव्हान गरेको आमहडताल दार्जिलिङमा जारी छ। विद्यालय, उद्योगधन्दा, चियाबगान, बजार, सरकारी कार्यालय बन्द हुँदा जनजीवन प्रभावित भएको छ। दार्जिलिङका विभिन्न बजारमा दिनहुँ प्रदर्शन भइरहेको छ।
यसैगरी मोर्चाका कार्यकर्ताहरुले प्रहरीसँग स्वेच्छिक गिरफ्तारी दिने क्रम जारी छ। आगजनी र तोडफोडको आरोपमा विभिन्न ठाउँमा कार्यकर्ताहरु पक्राउ गर्न थालेपछि विभिन्न ठाउँमा तीन दिन अघिदेखि स्वेच्छिक गिरफ्तारी दिने क्रम सुरु भएको हो। स्वेच्छिक गिरफ्तारी गर्नेको संख्या घट्न थालेको स्थानीय पत्रकार विमल राईले बताए।
यसैवीच निर्वाचन आयोगका पदाधिकारीहरु शान्ति सुरक्षाको स्थिति बुझ्न बुधबार दार्जिलिङ आइपुगेका छन्। छ सदस्यीय टोलीले सिलिगुडीमा राजनीतिक दलहरुका प्रतिनिधि, सुरक्षा अधिकारीसँग भेटघाट गरिरहेको स्थानीय पत्रकार प्रमोद गिरीले बताए। पश्चिम बंगालमा बैशाख–जेठमा विधान सभाको चुनाव हुँदैछ।

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...