कन्सर्टका लागि लाखौँको चलखेल


विश्व चर्चित गायक ब्रायन एडम्सको कन्सर्टका लागि राष्ट्रिय खेलकुद परिषद्का पदाधिकारीले आयोजकसँग लाखौँ रुपैयाँको बार्केनिङ गरेको खुलासा भएको छ । कन्सर्टको भेन्यु संयोजक बनेको राष्ट्रिय खेलकुद परिषद् कर्मचारी संघका अध्यक्ष नारायणदेव राणाले सोमबार पत्रकार सम्मेलनमार्फत पदाधिकारीले आयोजकसँग लाखौँ रुपैयाँ माग गरेको जानकारी दिए ।
'ब्रायन एडम्सको कन्सर्टको व्यवस्थानिमित्त आयोजकसँग परिषद्का उपाध्यक्ष पिताम्बर तिम्सिनाले सीधै दस लाख मागे,' संघका अध्यक्ष राणाको दाबी छ । खेलकुदमन्त्री नभएको अवस्थामा परिषद् चलाइरहेका सदस्यसचिव हरिबावु चौधरी, उपाध्यक्ष तिम्सिना तथा सदस्य समिममियाँ अन्सारी (बब्लु) ले आयोजकलाई कन्सर्ट गराउन नदिनेसमेत धम्की दिइरहेको राणाले अर्को खुलासा गरेका छन् ।

परिषद्का उपाध्यक्ष तिम्सिनाले एडम्सको कन्सर्ट गर्न रंगशालाका लागि सम्झौतापत्र स्वीकृत गराउन आयोजकसँग १० लाख मागे, सदस्य अन्सारीद्वारा परिषद्को हितका लागि आयोजकसँग सात लाखको बार्गेनिङ

'भेन्यु व्यवस्थापन संयोजकले काम गर्न सक्दैनन्, हामी परिषद्का पदाधिकारीले कन्सर्टको जिम्मेवारी लिन्छौँ, तपाईंहरूले दस लाख दिनुपर्छ,' आयोजकसँगको भनाइ उद्धृत गर्दै संघका अध्यक्षले राणाले भने, 'यदि हामीलाई रुपैयाँ दिएन भने कन्सर्ट पनि गराउन दिन्न, कन्सर्ट हुने दिनमा शनिबार रंगशाला खोलिँदैन पनि ।'
आयोजकको भनाइ उद्धृत गरी राणाले भने, 'रंगशाला हाम्रो स्वामित्वमा छ, कर्मचारी संघसँग छैन, उनीहरूलाई रंगशाला हामीले दिएका छैनौँ ।' यता परिषद्का उपाध्यक्ष तिम्सिनाले आफूमाथि लगाइएको आरोप झुटो भएको दाबी गर्छन् । 'यो सरासर गलत हो, मैले आयोजकसँग एक पैसा पनि मागेको छैन,' तिम्सिनाले भने । उपाध्यक्ष तिम्सिनाले रंगशाला उपलब्ध गराउन आफूले रकम नमागेको दाबी गरे पनि आयोजक स्रोतका अनुसार तिम्सिनाले दस लाख मागेका छन् ।
'हो, परिषद्का उपाध्यक्षले हामीसँग दस लाख रुपैयाँ मागेे,' आयोजक स्रोतले भन्यो, 'मागेको जति रकम नदिँदा उनी -तिम्सिना) ले कन्सर्ट नै रोक्ने धम्की दिए, सोमबार त रंगशालामा काम गर्न पनि बाधा उत्पन्न गराए ।' उपाध्यक्ष पिताम्बरले रंगशाला उपलब्ध गराउने सम्झौतापत्रमा सदस्यसचिवबाट स्वीकृत गराउने दाबी गर्दै त्यति रकम मागेको दाबी गरिएको छ । 'कर्मचारी संघसँग रंगशाला उपलब्ध गराउने अधिकार छैन, यो त केवल सदस्यसचिव चौधरीसँगमात्र छ, सम्झौतापत्रमा म उनलाई हस्ताक्षर गराउने छु, त्यसक लागि मेरो प्रस्ताव मान्नुपर्छ,' आयोजक स्रोतले भन्यो ।
उता परिषद्का सदस्य अन्सारीले आफू सदस्यसचिवको नजिक रहेको बताउँदै आयोजकसँग सात लाख रुपैयाँ मागेको स्रोतले जानकारी दिएका छन् । साथै उनले संघ अध्यक्ष राणासँग गत बिहीबार कन्सर्टका लागि तिम्सिनालाई नभएर आफूलाई सहयोग गर्न आग्रहसमेत गरेका थिए । सदस्य अन्सारीले आफूमाथि लगाइएको सबै आरोप मिथ्या भएको दाबी गरे ।
कर्मचारी संघले आर्थिक कोष खडा गर्नका लागि परिषद्सँग रंगशाला स्वीकृति लिएको बतायो । सोअनुसार संघले रंगशालाको एक दिनको भाडा सहयोगबापत पाँच लाख पाउने छ । संघका अध्यक्ष राणाले आयोजकले आफूहरूलाई सो रकम उपलब्ध गराइसकेको जानकारी दिएका छन् ।
परिषद्का सदस्यसचिव चौधरीले कर्मचारी संघलाई एक दिनका लागि रंगशाला उपलब्ध गराएको बताए । 'हामीले कर्मचारी संघलाई रगशाला एक दिनका लागिमात्र दिएका हौँ, योबाहेक अन्य दिनका लागि होइन ।' यसैबीच, आन्दोलनरत करार प्रशिक्षक तथा खेलाडीले रंगशालामा कन्र्सट आयोजना गर्न नदिन परिषद् पदाधिकारीलाई दबाब दिएका छन् । परिषद् पदाधिकारीको लाखौँ रुपैयाँका चलखेल सर्वाजनिक भएको दिनै खेलाडी तथा करार प्रशिक्षकले पदाधिकारीसँग भेट गर्दै रंगशालामा खेलकुदबाहेक अन्य कार्यक्रम गर्न नहुने भन्दै विरोध जनाएका हुन् । यता आयोजक ओडिओ नेटवर्कले भने एडम्सको कन्सर्टको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...