इटहरीमा भएको गोली फायरको घटनालाई लिएर कङ्ग्रेस र एमाले पक्षधरले एक-अर्काविरुद्ध प्रहरी कार्यालयमा उजुरी हालेका छन्। दुई पक्षीय आन्दोलनले इटहरीमा चार दिनयताको अवस्था अशान्त बन्दै गएको छ।
नेपाली कङ्ग्रेस इटहरी नगर सभापति हेमकर्ण पौडेलले एमाले निकट युवा सङ्घका कार्यकर्ताविरुद्ध उजुरी दिएपछि युवा सङ्घले मङ्गलबार पौडेल र नेविसङ्घका सुनसरी जिल्ला सभापति विकास केसीविरुद्ध उजुरी दिएका छन्।
सङ्घका इटहरी कोषाध्यक्ष जितेन्द्र थापाले पौडेल र केसीले नै गोली फायर गरेको भन्दै उजुरी दिएका हुन्।
युवा सङ्घ मोरङका उपाध्यक्ष पर्शु बस्नेतको नेतृत्वमा विराटनगरदेखि नै मोटरसाइकल जुलुससहित आएको समूह र इटहरीका युवा सङ्घमा आबद्ध युवाहरुले इलाका प्रहरी कार्यालय इटहरीमा उजुरी दिएका हुन्। युवा सङ्घले उजुरी दिनुअघि इटहरीमा कङ्ग्रेसको भातृ सङ्गठन तरुण दलविरुद्ध चर्का नाराबाजी गर्दै बजार परिक्रमा गर्यो।
कङ्ग्रेसका पौडेलले गोली फायर गरेको घटनाले आफू असुरक्षित भएको भन्दै युवा सङ्घ सुनसरी क्षेत्र नं. २ का अध्यक्ष रुपेश बजगाईंसहित अन्य कार्यकर्ता सुजन लामा, अरुण गुरुङ, अनिल राई, युवराज चापागाईं र जितेन्द्र थापाविरुद्ध सोमबार उजुरी दिएका थिए।
दुवै पक्षले एक-अर्कालाई दोष थोप्दै प्रहरी कार्यालयमा उजुरी दिए पनि प्रहरीले भने दर्ता गरेको छैन। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी भुपालकुमार भण्डारीले राजनीतिक पूर्वग्रहका आधारमा दिएको उजुरी प्रहरीले छानबिन नगरेसम्म दर्ता नगर्ने बताए।
पौडेललाई हातपात गर्ने रुपेश बजगाईंलाई कारबाहीको माग राखेर आइतबार यातायात बन्द गर्दा प्रहरी कार्यालय नजिकैबाट ६ राउण्ड हवाई फायर भएको थियो। इलाका प्रहरी कार्यालयमा बजगाईविरुद्ध सार्वजनिक अपराध ऐनअन्तर्गत उजुरी दिएर फर्कंदा फायर भएको थियो।
पौडेलमाथि पार्टीका कार्यकर्तासँग जुट विकास चोकमा बैठक बसिरहेको बेला शनिबार साँझ बजगाईंले मोटरसाइकलमा आएर हातपात गरेका थिए। बजगाईं केही समयअघि कङ्ग्रेस परित्याग गरी एमालेमा प्रवेश गरेका थिए।
दुई पक्षीय आन्दोलनले इटहरी अशान्त हुँदै गएपछि स्थिति साम्य पार्नका लागि प्रमुख जिल्ला अधिकारी रामप्रसाद थपलियाले पहल थालेका छन्। 'इटहरीमा एकपछि अर्को घटनाले नागरिकलाई परेको असरलाई ध्यानमा राखेर प्रमुख नेतालाई राखेर विवाद साम्य पार्ने प्रयास भइरहे पनि टुङ्गोमा पुगेको छैन्'- थपलियालले बताए। @ नागरिक

No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...