प्रहरी चौकी भवन निर्माण रोक्न लडाकुको धम्की


इलाम,  माघ : दक्षिणी दानावारीस्थित लडाकुको विप्लव सृजन स्मृति बि्रगेडका कमान्डरले स्थानीय शुक्रबारेमा निर्माणाधीन प्रहरी चौकी भवनको काम तत्काल रोक्न चेतावनी दिएका छन् । लडाकु कमान्डर उमेश आचार्यले आफ्नोे भनाइको बेवास्ता गरे बनेको भवन पनि भत्काइदिने स्थानीय ठेकेदार छविलाल आचार्यलाई धम्की दिएका हुन् 
शुक्रबारेमा निर्माणाधीन लोदिया प्रहरी चौकी भवन निर्माणको काम शान्ति मन्त्रालयअन्तर्गत हुन लागेको हो । कमान्डर आचार्यले शान्ति-सम्झौताविपरीत लडाकु शिविरको नजिकै प्रहरी चौकी निर्माण गर्न लागेको भन्दै काम रोक्न 'च्यालेन्ज' दिएको ठेकेदार छविलालले बताए । 'कमान्डरले मलाई राति ८ बजे फोन गरेर निर्माणको काम जसरी पनि रोक्ने धम्की दिए,' उनले भने 'डिएसपीको निर्देशनमा हामीले भवन निर्माणको काम थालेका थियौँ ।'
निर्माणको काम सुरु गरेको ४८ घन्टा पनि नबित्दै रोक्नका लागि धम्की आएकाले काम गर्न गाह्रो भएको उनले बताए । 'आफ्नो बेवास्ता गर्दै भवन निर्माण गरे सम्बन्ध राम्रो नहुने र बनाइसकेको भवन पनि भत्काइदिने धम्की आयो,' ठेकेदार आचार्यले भने । प्रहरी चौकी निर्माणको काम राजनीतिक मुद्दा भएकाले एकतर्फी निर्णयले काम गर्न नहुने भन्दै लडाकु कमान्डरले काममा रोक लगाउन खोजेका हुन् 
कुल ६१ लाख रुपैयाँको लगानीमा बन्न लागेको भवन निर्माणको काम गर्न ठेकेदार डिल्ली खनालले स्थानीय छविलाल आचार्य, भक्त लुंगेली, हरि दाहाल र गोविन्द दाहाललाई ४६ लाख रुपैयाँमा जिम्मा दिएको स्रोतले बताएको छ । माओवादी लडाकुले गत भदौमा पनि यहाँ प्रहरी चौकी निर्माण गर्ने काम अवरोध गरेका थिए । चौकी भवन निर्माणको काममा विवाद उत्पन्न भएपछि इलामका प्रहरी नायव उपरीक्षक विक्रम चन्दले पछिल्लोपटक भवन निर्माणको काम सुरु गर्न निर्देशन दिएको ठेकेदारले बताए 
भवन निर्माणको काम रोक्न कमान्डर आचार्यले स्थानीय प्रहरी चौकीका इन्चार्ज उमेश खड्कालाई अनुरोध गरेका छन् । 'तपाइर्ंले पनि त्यो भवन निर्माणको काम रोक्न सम्बन्धित पक्षलाई भनिदिनुपर्‍यो भनेका छन्, कमान्डरले,' खड्काले भने, 'शान्ति-सम्झौताविपरीत भएकाले भवन निर्माणको काम रोक्न आग्रह गरेका छन्, तर शान्ति-सम्झौताको परिभाषा मैले गर्न मिल्दैन ।' कमान्डर आचार्यलाई पटक-पटक फोन गर्दा पनि फोन उठेन । @ Nayapatrika

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...