त्रिभुवन विमानस्थलमा पाइला टेक्नेबित्तिकै बाचें भन्ने लाग्यो

Saudi ma yatna by nepalarab
शरीरभर नीलडाम छ । दुखाइले बोल्न त्यति सक्तैनन् । बोल्न खोज्छन्, बीचमै रोकिन्छन् । साउदी अरबबाट यातनापछि लखेटिएका यी ३७ वर्षे डम्बरबहादुर बोहोरा हिँड्न सक्ने अवस्थामा छैनन् । ‘त्रिभुवन विमानस्थलमा पाइला टेक्नेबित्तिकै बाचें भन्ने लाग्यो,’ गहभरि आँसु पार्दै बोहोराले भने, ‘दोस्रो जीवन पाएँ ।’

उनी साउदीको दमामस्थित नासरहल हाजिर कम्पनीको चालकमा काम गर्थे । उनी सुतिरहेको अवस्थामा २०/२५ जना पन्जाबी समूहको आक्रमणमा परेछन् । ‘बेल्चै बेल्चाले हाने,’ शरीरका नीलडाम देखाउँदै उनले भने, ‘मर्योब भनेर फालिदिएछन् पछि नेपाली दाजुभाइले देखेर अस्पताल पुर्या ए ।’

एक पन्जाबीसँग लिनुपर्ने पैसा माग्दा उनी पिटिए । ‘ममाथि कम्पनीले पनि ठूलो अन्याय गर्यो,,’ दुई वर्षदेखि कार्यरत बोहोराले भने, ‘पिट्नेलाई कारबाही नगरी मलाई राम्रो उपचार पनि नगरी सीधै स्वदेश पठाइदियो ।’ उनका सामान, लत्ताकपडा, नगद पैसा लिन क्याम्पमा जान पनि दिइएन । ‘मैले लगाएको यो भेस्ट, पाइन्ट र चप्पल साथीहरूले बाटोमा दिएका हुन्,’ उनले भने, ‘क्याम्पमा ६ हजार रियाल (१ लाख २० हजार) त नगदै थियो ।’

त्यहाँ डिजेल प्लान्ट बनाउने काम हुन्थ्यो । आक्रमण भएपछि नेपाली र पन्जाबी समूहबीच आक्रमण भएछ । ‘कम्पनीले झन्डै दुई सय नेपालीलाई माओवादी भन्दै प्रहरी लगाई पक्राउ गराएको छ,’ उनले भने, ‘कम्पनीमा केरालाहरूको पनि लगानी भएकाले केराला र पन्जाबीबाट नेपाली कामदारलाई बढी नै दबाबमा राखिएको छ ।’

प्लान्टमा नेपाली कामदारलाई शारीरिक यातना दिनु निकै सामान्य हो । निर्माण क्षेत्रमा बढी नेपाली संलग्न छन् । ‘एक महिनाअघि गल्ती गरेको निहुँमा नेपाली चालकको शरीरमाथि झन्डै ५० किलोको रड जीउ माथि कुदाइयो,’ उनले भने, ‘त्यसपछि काममा नलगाई कता पठायो, कता ?’
नेपालीका कुरा कम्पनीले सुन्दैन । ‘अलि कडा भएर प्रस्तुत भए दबाइदिने धम्की दिन्छ,’ उनले अनुभव सुनाए, ‘ठूलो स्वर गर्नै हुन्न ।’
बोहोराका अनुसार अहिले पनि कम्पनीले एक कोठामा आठ जना नेपालीलाई बन्दी अवस्थामा राखेको छ । ‘संखुवासभा जलजलाका डिल्लीराम बस्नेत, शेखर लिंखालगायत छन् । उनीहरू मलाई राखिएको कोठा नजिकै थिए,’ उनले भने, ‘सम्झौता अनुसारको काम नदिई राखेको साथीहरूले भनिरहन्थे ।’ त्यहाँ कार्यरत कामदार धेरैजसो एसओएस म्यानपवार सर्भिसमार्फत गएका हुन् । 

त्यसमध्ये बोहोरा पनि एक हुन् । SOS कम्पनीलाई सर्बोत्कृष्ट कम्पनी भनी हालै पुरस्कृत गरिएको थियो र त्यस कम्पनीका प्रमुख सोमलाल बटाजु बैदेशिक रोजगार ब्यवसायी संघका निर्बचित अध्यक्ष हुन जसले हालै सम्पन्न एनआरएनएको दुबई क्षेत्रिय सम्मेलनमा कामदारमाथि हुने ठगि र अपराधका बारेमा अनुसन्धान हुनुपर्ने बताएका थिए । हेरौं उनको आफ्नै कम्पनीबाट आई साउदीमा यसरी प्रताडित बनेका नेपाली कामदारहरू माथि भारतीय कामदारहरू र रोजगारदाता कम्पनीले गरेको ज्यादती र अत्याचारका बारेमा के कस्तो अनुसन्धान होला ?

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...