सूचना प्रविधिमा अभ्यस्त बन्दै नेताहरु


बैठक सुरु भएपछि अरू सभासद कागज माग्दै संसदका कर्मचारीलाई इसारा गर्छन्। तर, प्रकाशचन्द्र लोहनी भने टेबुलमा नेटबुक (सानो ल्यापटप, जसमा सिडी प्लेयर हुँदैन) खोल्छन्। उनी अरू सभासदले बोलेका महत्वपूर्ण विषय बुँदागत रूपमा त्यही नेटबुकमा टिप्छन्।
- एमाले नेता प्रदीप ज्ञवाली आफूलाई लागेको कुरामा जनमत बुझ्नुपर्‍यो भने सामाजिक सञ्जाल साइट 'फेसबुक' प्रयोग गर्छन्। उनी फेसबुकमा नियमित स्टाटस परिवर्तन गरेर आफ्ना सुख-दुःख साट्छन्।
नेपाली राजनीतिमा लोहनी र ज्ञवाली दुवै चर्चित हुन्। दुवैले राजनीति गर्न देश बुझेजस्तै बाहिरी संसार बुझ्न आवश्यक ठानेर सकेसम्म सूचना प्रविधिको उपयोग गरिरहेका छन्। 
 'कम्प्युटर चलाउन थालेको त १०/१२ वर्ष भयो, नेटबुक चाहीँ डेढ वर्ष भयो,' लोहनी भन्छन्। महत्वपूर्ण जानकारी नेटबुकमा टाइप गरेर राख्ने, आवश्यक पर्दा त्यसकै आधारमा प्रस्तुत हुने शैलीका कारण उनले पछिल्ला समय सहभागी हुने बैठकमा आफ्नो प्रस्तुति अझ व्यवस्थित भएको अनुभव गरेका छन्।
'सूचना प्रविधिमा उहाँ निकै अगाडि हुनुहुन्छ, कागज सकेसम्म कम प्रयोग गर्नुहुन्छ,' सार्वजनिक लेखा समितिका सचिव सोमबहादुर थापा भन्छन्। नेटबुक ल्याउन बिर्सेका बेला मात्र लोहनी कागज प्रयोग गर्छन्। उनले चलाउने १० इन्चको एसर नेटबुक अमेरिका बस्ने छोरीले पठाइदिएकी हुन्। जसलाई उनी आफ्नो सूचना बैंकका रूपमा प्रयोग गरिरहेका छन्।
पूर्वमन्त्री एवं सभासद ज्ञवाली सकेसम्म सूचना प्रविधि प्रयोग गर्ने नेता हुन्। सबैभन्दा 'लेटेस्ट' ल्यापटप प्रयोग गर्ने उनी राष्ट्रिय-अन्तर्राष्ट्रिय घटनाक्रमबारेमा 'अपडेट' हुन्छन्। 
'६ महिनाअघि विदेश जाँदा किनेको एचपीको डिएम-४ ल्यापटप चलाइरहेको छु,' उनी भन्छन्। यसको मूल्य ८ सय डलर पर्छ। उनी सूचना प्रविधि प्रयोग गर्दा केही घाटा नपुग्ने बताउँछन्।

उनी सामाजिक सञ्जाल फेसबुकमा पनि आबद्ध छन्। फेसबुकबाट पाएको एउटा रेस्पोन्सले उनी सूचना प्रविधि सकेसम्म प्रयोग गर्नुपर्छ भन्नेमा पुगेका हुन्। गत सेप्टेम्बर १३ मा उनको जन्मदिन थियो। उनले फेसबुकबाट सल्लाह, सुझाव मागे। त्यहाँ दर्जनौं व्यक्तिले सल्लाह-सुझाव दिएका थिए। यो विषयलाई पाल्पाबाट प्रकाशित एउटा पत्रिकाले 'कभर स्टोरी' बनाएर छापेको थियो।
यतिखेर ज्ञवाली इन्टरनेट संसारमा विश्वभरि भएका शान्ति प्रक्रियाबारे दस्तावेज खोजिरहेका छन्। 'जुन कुरा हार्ड कपीका रूपमा पाउन निकै मुश्किल छ, त्यस्ता महत्वपूर्ण डकुमेन्ट इन्टरनेटमार्फत् भेट्टाएको छु,' उनी भन्छन्।
सहभागी हुनुपर्ने बैठकका विषयवस्तु इन्टरनेटबाट खोज्ने, अन्तर्राष्ट्रिय चलन एवं मान्यताबारेमा 'अपडेट' हुनेमा सभासदमात्र होइनन् मन्त्रीसमेत असाध्ये कम छन्।
अधिकांश मन्त्रीका टेबुलमा राखिएका कम्प्युटर 'सो-पिस' भन्दा अरु काममा आउन सकेका छैनन्। 'मैले कम्प्युटर प्रयोग गरेको छु,' भनेर दाबी गर्ने मन्त्रीले पनि इमेल, इन्टरनेटभन्दा अरू चलाउँदैनन्। नेपाली लिपीमा टाइप गर्न जान्ने र आफ्ना लिखित दस्तावेज आफैंले तयार गरेर व्यवस्थित हुन खोज्नेहरू असाध्यै कममात्र छन्।
वन मन्त्री दीपक बोहोरा पनि नेटबुक लिएर मन्त्रिपरिषद बैठकमा प्रस्तुत हुन्छन्। त्यस्तै गृह मन्त्री भीम रावल सूचना प्रविधिमा अपडेट हुने मन्त्रीमा पर्छन्। मन्त्रिपरिषद स्रोतका अनुसार आवश्यक पर्दा क्याबिनेटका निर्णयसमेत रावल छिटो टाइप गर्छन्।
मन्त्रीपरिषद बैठक हुने हलमा हरेक मन्त्रीपिच्छे टचस्त्रि्कन कम्प्युटर राखिएको छ। जहाँ कुन एजेन्डामा छलफल भइरहेको छ भन्ने देखिन्छ। यसले मन्त्रिपरिषद बैठक छिटो र व्यवस्थित बनाउन सहयोग पुगेको छ।
संसद सचिवालयले सबै सभासदलाई इमेल सुविधा दिएको छ। तर, विडम्बना इमेल चलाउने क्षमता सबैसँग छैन। पहिलेदेखि नै इमेल ठेगाना भएकाले आफ्नै प्रयोग गरेका र संसदले उपलब्ध गराएको इमेल प्रयोग गर्ने सांसद ज्यादै कम पाइएको सचिवालयका कर्मचारी बताउँछन्।
सूचना प्रविधि प्रयोग गर्ने सभासदहरूमा गगन थापा, सुनिलबाबु पन्त, राजेन्द्र खेतान, रविन्द्र अधिकारी र धनराज गुरुङ पनि अगाडि छन्। गगनसँग दुईवटा ल्यापटप छन्। डेलको १४ इन्च र एसरको १० इन्चको। उनी संविधानसभा बैठकमा एसर नेटबुक लिएर बस्छन्। त्यहाँका महत्वपूर्ण विषय नेटबुकमा टिप्छन्।
'मैले अहिले सभासदको हिसाबले जति काम गरिरहेको छु, त्यसमा ५० प्रतिशत योगदान इन्टरनेटको छ,' थापा भन्छन्। उनी गुगललाई आफ्नो सबैभन्दा ठूलो सहयोगी मान्छन्। त्यसबाट उनले आवश्यक जानकारी लिन्छन् र विषयवस्तु बुझेर बैठक, कार्यक्रममा प्रस्तुत हुन्छन्।
अधिकांश सभासद महँगा मोबाइल सेट बोक्छन्। तर, त्यसमा भएका इमेल, इन्टरनेट सुविधा प्रयोग गर्ने भने ज्यादै कम छन्। संसद सचिवालयले सभासदलाई निःशुल्क इमेल र इन्टरनेटका लागि छुट्टै खर्च पनि दिन्छ।
'ज्यादै कम सभासदले मात्र इन्टरनेट सुविधा प्रयोग गरेका छन्,' सचिवालयका प्रवक्ता मुकुन्द शर्मा भन्छन्। १२८ केबिपिएसको एडिएसएल इन्टरनेट बिल पेस गरेपछि संसदले सभासदलाई भुक्तानी दिन्छ।
युवा पुस्ताका अधिकांश सभासद कम्प्युटर प्रयोग गर्नुपर्छ भन्ने खालका छन्। अपडेट हुन सकिएन भने पछि परिन्छ भनेर अहिले पछिल्ला पुस्ताका नेता पनि कम्प्युटरतिर लागिरहेका छन्।
सूचना प्रविधि क्षेत्रमा काम गर्नेहरू पनि सितिमिति कम्प्युटर प्रयोग गर्न चाहँदैनन्। गत पुस २२ मा लेखा समिति बैठकमा दूरसञ्चार प्राधिकरणजस्तो सूचना प्रविधि क्षेत्रको नियामक निकायका पदाधिकारी, सञ्चार मन्त्रालयका सचिव, नेपाल प्रहरीको सूचना प्रविधि हेर्ने अधिकारीसमेत कागजको पाना लिएर उपस्थित भएका थिए। सभासदले आफ्ना ल्यापटप, नेटबुकबाट अपडेट भएर जिज्ञासा राख्दै गर्दा सूचना प्रविधिमा काम गर्नेहरू कागजमा लेखिएको पढेर जवाफ दिएका थिए।
नेपाली नेतामा सबैभन्दा पहिले कम्प्युटर प्रयोग गर्ने प्रदीप नेपाल हुन्। २०४६ सालमै कम्प्युटरमा टाइप गर्न नेपालले २०५२ सालदेखि ल्यापटप प्रयोग गर्न थालेका हुन्। 'प्रविधिले दिएका वस्तु सकेसम्म प्रयोग गरेर फाइदा लिनुपर्छ भन्ने मेरो मान्यता छ,' उनी भन्छन्। उनले ल्यापटप प्रयोग गर्न थालेको कुरा त्यतिखेर निकै ठूलो आलोचनाको विषय बनेको थियो।
बाहिरी संसार बुझ्न अब इन्टरनेटको सहारा नलिई सुखै छैन। ज-जसले सूचना प्रविधि प्रयोग गर्न सक्दैनन्, त्यस्ता राजनीतिज्ञ पछाडि पर्दै जान्छन्। 'अलिकति जाँगर हुनुपर्छ, सूचना प्रविधि प्रयोग गर्न कुनै ठूलो कुरा छैन,' लोहनी भन्छन्। २०/२५ हजार रुपैयाँमा भनेजस्तो नेटबुक किन्न सकिन्छ। जसले ४/५ घण्टासम्म बिजुली नभएका बेला पनि मज्जाले काम दिन्छ। 'जसले भोलिसम्म राजनीति गर्छु भनेर लागेका छन्, उनीहरू सूचना प्रविधिमा अपडेट हुनैपर्छ,' सभासद ज्ञवाली र थापा सुझाव दिन्छन्। @ Nagariknews

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...