विराटनगर, माघ -
नोवेल मेडिकल कलेज तथा रिसर्च सेन्टर प्रालिले भारतीय पत्रकार र स्थानीय निकायका पदाधिकारीहरूलाई अस्पतालको सेवामा छुटसहितको सहुलियत कार्ड वितरण गरेको छ ।
प्रालिका अध्यक्ष केपी शर्माले भारत र नेपालबीच सदियौंदेखि कायम रहेको रोटी-बेटीको सम्बन्ध अब शिक्षा र स्वास्थ्य सेवामा समेत जोडिने उल्लेख गरे । त्यसमा भारतीय पत्रकार र स्थानीय निकायका पदाधिकारीले वितरण गरेको सहुलियत कार्डका आधारमा प्रालिले भारतीय नागरिकलाई पनि १० देखि ४० प्रतिशत छुटको व्यवस्था गरेको बताए ।
प्रालिका अन्तर्राष्ट्रिय निर्देशक डा. निरञ्जन कुमारले भारतका स्थानीय निकायका प्रतिनिधिहरूसँग सम्मेलन गर्नुको उद्देश्य अस्पतालले प्रदान गर्ने सेवालाई सीमा विहीन बनाउने उद्देश्यले भएको बताए । सम्मेलनमा विहार राज्यका विभिन्न जिल्लाका पत्रकार र स्थानीय निकायका प्रतिनिधिहरू सहभागी थिए । कार्यक्रम भारतको फारबिसगन्ज नगर पञ्चायतकी अध्यक्ष विनादेवीले भारतीय जनतालाई लक्षित गरी नोवेल मेडिकल कलेजले वितरण गरेको सहुलियत कार्डले विपन्न जनतालाई ठूलो राहत पुग्ने बताइन् ।
मटिहारी पञ्चायतका मुखिया प्रदीप देवले नेपाल र भारतबीच युगौंदेखि चल्दै आएको रोटी-बेटीको सम्बन्ध अब शिक्षा र स्वास्थ्यसँग पनि जोडिन पुगेकोमा खुसी लागेको बताए । उनले भने, 'स्वास्थ्य र शिक्षामा पनि दोहोरो रूपमै चल्दै आएको सम्बन्धमा यसले थप एउटा इँटाको काम गर्नेछ ।' अस्पतालका प्रोजेक्ट डाइरेक्टर विदुर वस्ती र अध्यक्ष शर्माले भारतीय सञ्चारकर्मी र नेपाली सञ्चारकर्मीलाई सम्मानसमेत गरेका थिए । भारतीय च्यानल सहाराका पत्रकार पंकज रञ्जितले सीमान्तकृत भारतीय जनतालाई यस्तो सेवाले ठूलो राहत हुने बताए । उत्तरी विहारका जनताले सयौं किलोमिटर पार गरेपछि मात्र राम्रो स्वास्थ्य सेवा पाउने तर सात किलोमिटर उत्तरतिर आउँदा विराटनगरमै दिल्लीको सुविधासम्पन्न अस्पतालको जत्तिकै सुविधा पाउने भएकाले यो कार्यक्रम प्रभावकारी हुने उनले बताए ।
प्रालिका जनसम्पर्क अधिकृत नारायण दाहालले भारतीय सरपञ्च, मुखिया, वडा र जिल्ला परिषद् सदस्यहरूलाई एक वर्षका लागि हजार जनासम्मलाई सहुलियत कार्ड वितरण गर्न दिएको बताए । उनले भने, 'उनीहरूले वितरण गरेको कार्ड लिएर आएमा अस्पतालको सेवामा १० देखि ४० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ ।'


No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...