तस्करी रोक्दा प्रहरीले कुटपिट गरेको आरोप


बिर्तामोड / गैरकानुनीरुपमा नेपालबाट भारततर्फ भइरहेको सुपारी निकासीमा अवरोध गरेपछि सशस्त्र प्रहरीले आफूहरुलाई कुटपिट गरेको दक्षिण झापाको टाघनडुब्बा–२ का बासिन्दाले आरोप लगाएका छन् । गत बिहीबार साँझदेखि तनावग्रस्त टाघनडुब्बामा आइतबार सञ्चारकर्मीको टोली पुग्दा स्थानीय मुस्लिम समुदायले यस्तो आरोप लगाएको हो ।
बिहीबार साँझ मुस्लिम र सशस्त्र प्रहरीबीच भएको झडपमा बेस क्याम्प प्रमुख इन्स्पेक्टर सुदिप प्रसाईं, प्रहरी जवान रेवत श्रेष्ठ र दावा शेर्पा घाइते भएका थिए । घाइतेमध्ये श्रेष्ठको हालसम्म उपचार भइरहेको प्रसाईंले बताए ।
स्थानीय बासिन्दाहरु चार बालकसहित सातजना घाइते भएका छन् । घाइतेहरुमा १२ वर्षीय इन्ताज अन्सारी, ११ वर्षीय इम्ताज अन्सारी, १२ वर्षकै मिथिलेस मण्डल र १० वर्षीय मसुद अन्सारी छन् । यसैगरी नौसाद अली, सफिफूद्दिन अन्सारी र रमजान अन्सारी पनि घाइते छन् । घाइतेमध्ये इन्ताज र इम्ताज अन्सारीको भारतको दिघल बैंकमा उपचार भइरहेको नौसाद अलीले बताए । सफिफूद्दिन अन्सारी र रमजान अन्सारीलाई प्रहरीले पक्राउ गरेको जनाएको छ । 
झडपपछि सशस्त्र प्रहरीले घर–घरमा पसेर निर्दाेष नागरिकलाई कुटपिट गरेको आरोप पनि स्थानीयको छ । उनीहरुका अनुसार सीडीओ र एसपीले स्थलगत अनुगमन गरेपछि त झन् सशस्त्र प्रहरीले टाघनडुब्बा–२, ४, ६ र ७ वडाका घर–घरमा गएर शनिबार कुटपिट ग¥यो । त्यस क्रममा नुरजहान खातुनलगायत्का महिलामाथि प्रहरीले हातपात गरेको आरोप पीडितले लगाएका छन् । 
बिहीबार साँझको झडपमा इन्स्पेक्टर नै घाइते भएपछि प्रहरीले चार राउण्ड हवाई फायर गरेको थियो । सशस्त्र प्रहरीले घर–घरमा सर्च गर्न थालेपछि स्थानीयवासी आतङ्कित भएको त्यहाँका पूर्व वडाध्यक्ष कलाम शेखले बताए । 
यसैबीच इन्स्पेक्टर प्रसाईंले प्रहरीमाथि विनाकारण आक्रमण भएको भन्दै आक्रमणमा संलग्न डेढ दर्जन स्थानीयवासीलाई पक्राउ गरिने बताए । झडपमा सशस्त्रको एउटा भ्यान र मे. २ प ९५८ नम्बरको एउटा मोटरसाइकल समेत तोडफोड भएको थियो । घटनालगत्तै प्रहरीले नेपाल–भारत सीमा सिल गरेको थियो । सर्च अभियान सुरु भएपछि घटनामा संलग्न अन्य भने फरार रहेको बुझिएको छ ।
केही समययता सुपारी, लसुनलगायत्का सामान भन्सार छलेर सो मार्गबाट भारततर्फ निकासी हुँदै आएको थियो । स्थानीय वाणि हुसैनले आफ्नो जग्गामा घर बनाउने भन्दै ढुङ्गा–बालुवा थुपारेपछि बाटो अवरुद्ध भएको स्थानीय मुस्लिम अन्सारीले बताए । त्यसपछि तस्कर समूहले शाह थरका एकजना व्यक्तिलाई वार्षिक ६ हजार दिने सर्तमा नयाँ बाटो बनाएको उनले बताए ।
तस्कर समूहले बनाएको बाटोमा स्थानीयलाई हिँड्न बन्देज लगाएपछि त्यहाँ विवाद सुरु भएको थियो । घटनापछि स्थानीयले गैरकानुनीरुपमा हुँदै आएका निकासी नियन्त्रण गर्न थालेकाले सो घटना भएको अन्सारीको भनाइ छ ।
सुपारी नियन्त्रणमा लिएपछि बेस क्याम्पले आफुहरुलाई निगरानी गर्न थालेको अन्सारीले बताए । यसरी जाने सुपारी–लसुन स्थानीय ठेकेदार मौलान गुलाम रसूल नूरी रहेको उनीहरुको भनाइ छ । @ ब्लाष्ट


No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...