दलित र ब्राह्मणबाट पुराण वाचन


सामान्यतया ब्राह्मण, क्षेत्री समुदायमा विशेष महत्त्व राख्ने पुराण समावेशी मात्र होइन, सामाजिक सद्भाव जगाउन पनि सक्षम हुँदोरहेछ । एक सातादेखि यहाँ लगाइएको महायज्ञले यस्तै सन्देश दिएको छ ।  

मुलुकमा जारी शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउन र समयमा संविधान निर्माणको कामना गर्दै फिदिम उच्च माविमा विज्ञान कक्षा सञ्चालनका लागि आइतबारदेखि लगाइएको श्रीमद्भागवत् विराट ज्ञान महायज्ञ समावेशी चरित्रको छ । दलित, जनजाति हुन् वा ब्राह्मण सबै समुदायको पुराणमा उत्तिकै महत्त्व र सहभागिता देखिएको हो । 

महायज्ञमा दलित पण्डित अर्जुन शंकर र ब्राम्हण समुदायका पुण्यप्रसाद गुरागाईंले मंगलबार एउटै व्यासबाट पुराण भन्दा सहभागी तीन सयभन्दा बढी भक्तजन उत्साहित भए । ब्राह्मण र दलित पण्डितले कलात्मक पाराले संस्कृतका ऋचा उच्चारण गर्दै कथावाचन गरेर भक्तजनलाई लठ्ठै बनाएका थिए ।

बिहानैदेखि रातिसम्म चलिरहेको पुराणमा गाइने भजनमा र देवीदेवताको चरित्र चित्रणमा सबै समुदायले उत्तिकै साथ दिइरहेका छन् । स्थानीय विकास मन्त्री पूर्णकुमार सेर्माले उद्घाटन गरेको पुराणमा माओवादी जिल्ला सहइन्चार्ज विशाल रसाइली, राप्रपा अध्यक्ष मानदेव केरुङ, तामाङ घेदुङ संघका बिर्खबहादुर वाइबा, जनजाति महासंघका अध्यक्ष लोकेन्द्र आलेमगर लगायत सबै समुदायका नेता, कार्यकर्ता र प्रशासक भजन गाउँदै नाच्दा कसैले नौलो र अनौठो मानेका छैनन् ।   

दलित नेता लक्ष्मीप्रसाद सुनारले एक लाख २३ हजार चार सय ५४ रुपैयाँ दान गरेपछि उनलाई अभिनन्दन गरी बाजागाजासहित मोटरबाट नगर परिक्रमा गराइयो । दलित समुदायका सुनारको परिवार रथाटनमा रहेका बेला स्थानीय शिक्षक गोपाल ढुंगानाले दलित समुदायले फुक्दै आएको 'नरसिंहा' बजाउँदा समाज परिवर्तनको झल्को पाइन्थ्यो । महायज्ञ उद्घाटन क्रममा सबै जातजातिको वेशभूषा र झाँकीसहित बजारमा शोभायात्रा गरिएको थियो । 

पुराणबाट अहिलेसम्ममा डेढ रोपनी जग्गा र करिब १७ लाख रुपैयाँ उठेको छ । पुराणबाट ४० देखि ५० लाखसम्म संकलन हुने सम्भावना रहेको काफ्लेले बताए ।

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...