![]() |
| पाँचथरको फिदिम र आठराई जोड्ने सडकमा पर्ने तमोर नदीमा बनाइएको डाइभर्सन क्षेत्रमा सोमबार फसेको ट्रयाक्टर । |
मध्यपहाडी राजमार्ग अन्तर्गत तमोर नदीमा साताअघि निर्माण गरिएको अस्थायी डाइभर्सनबाट यातायातका साधन तार्न समस्या भएको छ । डाइभर्सनको लागि सरकारले ३० लाखभन्दा बढी खर्च गरेको थियो । डाइभर्सन बनेपछि फिदिमदेखि केही मिनी बस, मिनी ट्रक र मोटरसाइकल ३६ किलोमिटर टाढाको सक्रान्तिबजारसम्म पुर्याएको थियो ।
दुई सय मिटर लामो डाइभर्सन क्षेत्रमा गाडी फस्ने गरेकाले समस्या भएको चालकहरू बताउँछन् । तमोरमा ९० सेन्टिमिटर व्यास भएका ४० वटा ह्युम पाइप राखी तीनवटा भंगालाबाट पानी कटाइएको छ । राजमार्गमा पर्ने हेंवा खोलाको भंगालोमा चारवटा ह्युम पाइप राखी डाइभर्सन निर्माण गरिएको हो तर पाइपबाट सबै पानी नकट्ने भएकाले माथिबाटै बगेको छ ।
निर्माण व्यवसायी चन्द्र खनालले बढी भार क्षमताका गाडी कुड्दा ढुंगा सरेर गाडी फस्ने गरेको बताए । 'डाइभर्सन क्षमतालाई ख्यालै नगरी बढी भारका गाडी कुदाउँदा समस्या आएको हो' उनले भने । प्राविधिकले सुरुमा तमोरको पानी अनुमान नै नगरी कम ह्युम पाइपबाट पानी कटाउन खोजेकाले समस्या बढेको स्रोतले बताएको छ । सुरुमा २० वटा पाइपले पुग्ने अनुमान गरिए पनि पछिबाट २० वटा थप्दा समस्या टरेको छैन । कम पाइप ल्याइएकै कारण डाइभर्सन निर्माणको समयावधि बढेको थियो ।
मध्यपहाडी राजमार्ग निर्माण आयोजनाका इन्जिनियर सुरेश तुम्बाहाम्फेका अनुसार डाइभर्सन क्षेत्रमा राम्ररी सोलिङ गरिए हाललाई काम चलाउन सकिने बताए । 'डाइभर्सन नै अस्थायी हो' उनले भने, 'हिउँदभर काम चलाउने प्रयत्न गरिरहेका छौं ।'


No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...