यहाँस्थित भानुचोकमा निर्माण भएको घन्टाघर अवलोकन गर्ने र धार्मिक पर्यटकीयस्थल घुम्ने आन्तरिक पर्यटकको आगमनमा वृद्धि भएको छ । नेपाल पर्यटन वर्ष २०११ सुरुसँगै धरान घुम्न आउने आन्तरिक पर्यटकको संख्यामा वृद्धि भएको हो ।
भानुचोक बसपार्कमा झरेपछि पहिलो नजरमै सबैको मन घन्टाघरले तान्ने गरेको छ । निर्मित घन्टाघर हङकङ क्लब टावरको हुबहु नक्कल भएकाले कतिपयले 'हङकङ शैली' भन्ने गरेका छन् । हङकङको क्लकटावर भने बि्रटिस शासकले निर्माण गरिदिएको हो । घन्टाघरका व्यवस्थापक केशव न्यौपाने भन्छन्, 'धरान बाहिरबाट आउनेहरू मात्र नभएर धरानभित्रका युवायुवतीदेखि अधबैसेहरूसमेत टिकट काटेर घन्टाघर चढ्ने गर्छन् ।' उनका अनुसार पार्कसहितको रहेको घन्टाघरमा चढेर रमिता हेर्नेहरूको संख्या गत पुस महिना र माघको पहिलो सातामा ५ हजार ५ सय ५७ जना पुगेका छन् ।
घन्टाघरमा राखिएको आगन्तुक पुस्तिकामा भारतको दार्जिलिङ, सिलिगुढी, विहार, आसाम लगायत अन्य विभिन्न प्रान्तहरूबाट समेत पर्यटकहरूले आफ्नो हस्ताक्षर गरेका छन् । नेपालका विभिन्न विद्यालयका विद्यार्थीहरू शैक्षिक भ्रमणमा समेत आउने गरेका छन् । पूर्वी नेपालका अधिकांश जिल्लाका साथै हेटौंडा, चितवन, पोखरा, काभ्रे, नेपालगन्जबाट पनि उल्लेख्य संख्यामा घुम्न आउनेहरूले हस्ताक्षर गरेका छन् ।
घन्टाघरमा राखिएको टिकट काउन्टरमा आर्थिक वर्ष २०६६/६७ मा जम्मा ३३ हजार ३ सय ६६ जना आएको देखिन्छ । चालु आर्थिक वर्ष २०६७/६८ को ६ महिनामा हालसम्म १८ हजार ५ सय ६३ जनाले घन्टाघरको अवलोकन गरिसकेका छन् ।
धरान नगरपालिका बनेको ५० वर्ष पुगेको र पर्यटन वर्ष पनि सुरु भएकाले आन्तरिक र वाह्य पर्यटक आकषिर्त गर्न व्यवस्थापन समितिले घन्टाघरको भित्री भाग र बाहिर कम्पाउन्डमा रंगरोगन गर्न थालेको न्यौपानेले बताए ।


No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...