चिसोले विमानस्थल निर्माण अवरुद्ध


ताप्लेजुङ, 
अत्यधिक चिसोका कारण जिल्लामा निर्माणाधीन सुकेटार विमानस्थल निर्माण कार्य बन्द भएको छ । चिसोका कारण आठवटा मेसिन त्यसै राख्नुपर्दा दैनिक ६० हजारदेखि एक लाख रुपैयाँसम्म घाटा भइरहेको ठेकेदारहरू बताउँछन् । चिसोले तेल जमाउने र मेसिन नचल्ने भएपछि पाँच दिनदेखि मेसिन त्यसै थन्काउनुपरेको ठेकेदार कम्पनीका अमिर मादेनले बताए ।

 हिउँ पनि नपर्ने तर हुस्सु लागिरहने हुँदा जनजीवन पनि प्रभावित भएको छ । चिसोका कारण सुकेटार बाहेकका क्षेत्रमा पनि निर्माण कार्य प्रायः ठप्प रहेका छन् । गुफा, साँघु क्षेत्रमा निर्माणाधीन सडक निर्माणमा समेत अवरोध आएको उक्त क्षेत्रमा कार्यरत कर्मचारी सञ्जय भट्टले बताए । भट्टका अनुसार घरबाट बाहिर निस्कने अवस्था नरहेकाले मानिसहरू घरभित्रै बसिरहेका छन् ।

यस्तो समस्या जिल्लाको उच्च हिमाली क्षेत्रमा पनि देखिएको छ । ओलाङचुङगोलाका छेतेनडन्डु शेर्पा अहिलेको जनजीवन हिउँ पर्दाभन्दा कठिन र कष्टकर बनेको बताउँछन् । उनले भने, 'हिउँ पर्दा धेरै चिसोको महसुस हुँदैन थियो तर कुहिरोमात्रै लागेर आकाश नखुल्दा चिसोको महसुस बढी भएको छ ।' आकाश धुम्मिए पनि हिमाली क्षेत्रमा पर्याप्त हिउँ पर्न नसकेको उनले बताए ।

यता मेची राजमार्गमा पनि यस्तो समस्या भएको ठेकेदार बताउँछन् । जल तथा मौसम विज्ञान विभाग कोसी बेसिन फिल्ड कार्यालय ताप्लेजुङका अनुसार अघिल्लो वर्षको तुलनामा चिसो बढेको तथ्यांक कार्यालयमा छ । 

निमित्त कार्यालय प्रमुख खगेन्द्र गौतमका अनुसार यो वर्ष न्यूनतम तापक्रम शून्य डिग्री सेल्सियससम्म झरेको छ । जुन तीन वर्षअघि मात्रै भएको थियो । प्रत्येक दिन न्यूनतम एक/दुई डिग्री सेल्सियस हुने गरेको पनि कार्यालयले जनाएको छ । एक दशकअघि भने माइनससम्म पनि झरेको थियो ।

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...