भारतीय मजदुरद्वारा नेपाली ट्रक बंगलादेश जान रोक


पर्वत पोर्तेल
भारतीय ढुवानी मजदुरको अवरोधले मंगलबार पनि नेपाली ट्रकले बंगलादेशको वेयर हाउससम्म प्रवेश पाउन सकेनन् । यसले नेपाल- बंगलादेश व्यापार प्रभावित बन्न पुगेको छ ।
भारतीय ढुवानी मजदुरले रोजीरोटी खोसिएको भन्दै नेपाली ट्रकलाई बंगलादेशको बन्दरगाहसम्म जान दिएका छैनन् । हालै भएको त्रिपक्षीय सम्झौतामा भने नेपाली ट्रकले बंगाल बन्दरगाहसम्मै पहुँच पाउने उल्लेख छ । यसअघि नेपाली ट्रकले भारतको सीमामा सामान झार्नुपथ्र्यो, त्यसपछि फेरि अर्को ट्रकमा लोड गरेर बंगालादेश पुर्‍याइन्थ्यो ।
मजदुर अवरोधबारे समस्या समाधानका लागि दुवै देशका प्रशासनले पहल नगर्दा नेपाली व्यवसायीले सास्ती बेहोर्नुपरेको छ । यसले नेपाल-बंगलादेश व्यापार हुन नपाउनु अन्तर्राष्ट्रिय व्यापार महासन्धि विपरीत भएको नेपाल पारवहन गोदाम कम्पनीका प्रमुख यादव शिवाकोटीले जानकारी दिए । 'यस्तो भइरहँदा पनि स्थानीय भन्सार मौन देखिएको छ,' उनले भने । उनका अनुसार भन्सारले समस्याको तत्काल समाधान गरेर व्यापार सुचारु गरिदिनुपथ्र्यो ।
स्थानीय ढुवानी मजदुरले पहिले जस्तै भारत-बंगलादेशको जिरो प्वाइन्टमा लोड अनलोड गरिनुपर्ने माग राखेका छन् । मजदुरले बिहानैदेखि फूलबारी नाकामा नाराबाजी गर्दै माग पूरा नभएसम्म ट्रक प्रवेश गर्न नदिने बताएका थिए । फूलबारी सुख्खा बन्दरगाहका प्रमुख निरीक्षक सन्तानु चटर्जी, नेपाल पारवहन गोदाम कम्पनीका प्रमुख यादव शिवाकोटी तथा झापाका एजेन्ट व्यवसायीले आन्दोलनकारीलाई ट्रक प्रवेशका लागि पटकपटक आग्रह गर्दा पनि उनीहरूले मानेका छैनन् ।
उनीहरूले प्रत्येक ट्रकबापत ४ सय भारतीय रुपैयाँ दिए एक दिनलाई प्रवेश नरोक्ने बताएका थिए । तर व्यवसायी उनीहरूका मागमा सहमत हुन सकेनन् । 'कामै नगरी पैसा माग्न खोज्दै थिए,' व्यवसायी प्रदीप पाण्डेले भने, 'हामीले इन्कार गरिदियौं ।' अर्का व्यापारी नवीन दाहालले पैसा दिएर सामान नछिराउने अडान व्यक्त गरे । उनले यो समस्या भारत सरकारको रहेकाले उसैले तत्काल सुल्झाउनुपर्ने बताए । 'समस्या उसको हो,' दाहालले भने, 'जसरी हुन्छ चाँडो समस्याको हल गरियोस् र व्यापार सुचारु गरियोस् ।'
अवरोधका कारण नेपाली सामान बोकेर आएका यातायात मजदुर बढी प्रभावित हुन पुगेका छन् । बंगलादेशको गोदाम सोझै प्रवेशका लागि आएका दर्जनौं ट्रक १५ दिनदेखि फूलबारी नाकामा अलपत्र परेका छन् । 'भएको खर्च सकिइसक्यो,' ना२ख ४०४ नम्बरको ट्रकका चालक अमृतदीप मगरले कान्तिपुरलाई गुनासो गर्दै भने, 'अझै प्रवेश पाएका छैनौं ।' ट्रक चालकले दैनिक प्रतिट्रक १ सय भारु त्यत्तिकै तिर्नुपरेको बताए ।
आन्दोलनकारीले भन्सारका एडिसनल कमिस्नर आर मंगाबाबुलाई ज्ञापनपत्र बुझाउँदै सोमबार एक साताका लागि नेपाली ट्रक जिरो प्वाइन्टमै लोड अनलोड गर्न माग गरेका थिए । अघि दुवै देशका मजदुरले सामान लोड अनलोड गर्दै आएका थिए । करिब सय मजदुर यो व्यवसायमा आश्रति छन् । @ Ekantipur

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...